Aamsanchar

जे हुन्छ झापामा नै हुन्छ! गाउँपालिका अध्यक्षद्वारा सुत्केरीलाई ‘लोकल भाले’

Author Image
बुधवार, पौष १८, २०७५

झापा।

आफन्त वा छरछिमेकमा कोही सुत्केरी भए नवजात शिशुको मुख हेर्न भन्दै उपहार लिएर जाने चलन छ । कतिपयले खाली हात नबजात शिशुको मुख हेर्न नहुने भन्दै शिशुको हातमा पैसा राखिदिने गरेका छन् ।

अधिकांशले नवजात शिशु हेर्न वा सुत्केरी महिलालाई भेट्न जाँदा शिशुका लागि नयाँ कपडा लिएर जाने गरेका छन् । तर, झापाको हल्दिवारी गाउँपालिका प्रमुख रवीन्द्र लिङ्देन हल्दिबारी–५ निवासी सुत्केरी सुजाता तामाङलाई भेट्न जाँदा कुखुराको भाले बोकेर पुगे ।

हल्दिबारी गाउँपालिका–४मा रहेको जलथल स्वास्थ्य चौकीमा सोमवार तामाङले शिशु जन्माएपछि आमा र शिशुको स्वास्थ्य अवस्था बुझ्न ‘लोकल भाले’ सँगै हर्लिक्स, शिशुका लागि न्यानो कपडा र डाइपर लिएर स्वास्थ्य संस्था पुगेका थिए । गाउँपालिका अध्यक्ष लिङ्देनलाई स्वास्थ्य चौकीमा देखेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी मात्र होइन सेवा लिन आएका सेवाग्राही समेत छक्क परे ।

गत पुस १ गतेबाट जलथल स्वास्थ्य चौकीमा गाउँपालिकाको पहलमा वर्थिङ सेन्टर सञ्चालन गरिएपछि गाउँपालिका प्रमुख लिङ्देन सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य चौकी पुगेका थिए । वर्थिङ सेन्टर सञ्चालन गरिएपछि तामाङलाई स्वास्थ्य चौकीले पहिलोपटक प्रसूति सेवा (सुत्केरी) प्रदान गरेको थियो ।

यस अघि त्यहाँका सर्वसाधारण प्रसूति सेवाका लागि मेची अञ्चल अस्पताल भद्रपुर वा अन्य निजी अस्पताल जान बाध्य थिए । आफ्नै ठाउँमा रहेको स्वास्थ्य संस्थाबाटै प्रसूति सेवा लिन सकिने भएपछि त्यहाँका सर्वसाधारणलाई प्रोत्साहन गर्न गाउँपालिका अध्यक्ष लिङ्देन नवजात शिशु र सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य संस्था पुगेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)