Aamsanchar

नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक

Author Image
मङ्गलवार, माघ १५, २०७५

काठमाडौं।

नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो ।

१८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छ । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ ।

सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक

सूचकांकमा डेनमार्कले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककारुपमा सूचीकृत छ ।

यसैगरी, दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान २५औं, भारत ७८औं, श्रीलंका ८९औं, पाकिस्तान ११७औं, माल्दिभ्स १२४औं, बंगलादेश १४९औं र अफगानिस्तान १७२औं स्थानमा छन् ।

चीन ३९औं अंक प्राप्त गरी ८७औं स्थानमा रहेको छ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआइले यो सूची तयार पारेको हो ।

टीआइले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा धेरै देशको लोकतन्त्र नै संकटमा पर्दै गइरहेको समेत जनाएको छ भनेर इमेज खबरले समाचार प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)