Aamsanchar

प्रधानमन्त्री ओली झापामा विभिन्न कार्यक्रममा सहभागी हुने

Author Image
बिहिवार, माघ १७, २०७५

बिर्तामोड ।

प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल आइपुगेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली झापा आएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ। प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र तीन दिनअघि देखिनै परिचालित छन्।

बाल महोत्सव दमक

दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने छन्।

स्वर्ण महोत्सव धर्मभक्त मावि

ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजित बाल महोत्सवको उद्घाटनपछि प्रधानमन्त्री ओली कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने छन्। त्यहाँ उनी १ देखि २ बजेसम्म रहने कार्यक्रम छ।

मेची पुल उद्घाटन

प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे भद्रपुरस्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ। मंसीर २६ गते नै प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने पूर्व तयारी रहे पनि काम बाँकी रहेकाले सो पुल उद्घाटन हुन सकेको थिएन।

रात्रिकालीन उडान उद्घाटन

बिहीबार साँझ ५ बजे प्रधानमन्त्रीले चन्द्रगढी बिमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्ने छन्। उद्घाटन गरेकै जहाजबाट प्रधानमन्त्री ओली काठमाडौ फर्कने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ।

रात्रिकालीन उडानको परीक्षण

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु अघि चन्द्रगढी विमानस्थलमा रात्रिकालिन उडानको परीक्षण गरिएको छ। आइएफआर सेवा डेनाइट सञ्चालनका लागि विमानस्थलमा बत्ती जडान सहित सबै काम सकिएकाले उद्घाटन पुर्व बुधबार साँझ परिक्षण उडान गरिएको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताए। बुद्ध एयरबाट गरिएको परीक्षण उडान सफल भएको प्रमुख चुडालको भनाई छ।

चन्द्रगढीका लागि बुद्ध, यति र श्री एयरलायन्सले आइएफआर सेवाका लागि अनुमति लिइसकेका छन्। विमानस्थलमा उडान भर्दै आएका सौर्य र नेपाल एयरलायन्स आइएफआर सेवाका लागि अनुमति लिने प्रक्रियामा रहेको चुडालले बताए। विमानस्थलमा स्याटेलाइट बेस्ट डे आइएफआर पनि सुरु भइसकेको चुडालले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर