Aamsanchar

बिर्तामोडको गणेश पम्पको ठगिधन्दा नक्कली शिल लगाइ उपभोक्ता ठग्दै

Author Image
शुक्रवार, माघ १८, २०७५

बिर्तामोड।

झापाको बिर्तामोड चोकमा रहेको गणेश पेट्रोल पम्प (अटो मोवाइल्स) मा गुणस्तर तथा नाप तौल कार्यालय झापाले शिल गरेको छ ।

कार्यालयका प्रमुख कमल ओझा, नेपाल आयल निगम चारआली डिपोका प्रमुख सोनम कार्की लगायतको टोलीले बिहीवार उक्त पम्पमा शिल गरेको हो ।

उक्त पम्पको डिजेल तथा पेट्रोल मिटरको एसेम्ब्लीमा लगाएको शिल तोडिएको पाइएपछि पम्प बन्द गरिएको गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख ओझाले बताए । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरले मिटरमा शिल राखेको थियो । हरेक पम्पको मिटरमा नाप तौलमा तलमाथि नहोस् भनेर कार्यालयले शिल राख्ने गरेको छ । ‘नाप तौल कार्यालयले लगाएको शिल गणेश पम्पको मिटरमा थिएन’– प्रमुख ओझाले भने– ‘पम्पका अन्य ठाउँमा भएका शिल पनि अनुसन्धानका लागि निकालेर लगेका छौं ।’

काठमाडौंको मैतीदेवी पेट्रोल पम्पमा सञ्चालकले नक्कली शिल लगाइ उपभोक्ता ठगेको पाइएपछि त्यस्तै आशंकामा गणेश पम्पमा अनुगमन गरिएको बताइएको छ । गणेश पम्प र मैतीदेवीका पम्प सञ्चालक नातेदार भएको बताइन्छ । ति दुबै पम्पको सञ्चालक एउटै व्यक्ति रहेको गुणस्तर तथा नापतौल विभागको सूचनाको आधारमा अनुगमन गरिएको जनाइएको छ ।

गणेश पम्पबाट संकलित अरु शिल कार्वाहीका लागि विभागमा पठाएको र उक्त विषयमा अनुसन्धान भइरहेको प्रमुख ओझाले बताए । गणेश पम्पले नाप तौलको शिल तोडेर डिजेल तथा पेट्रोलको तौलमा ठगी गर्ने गरेको उपभोक्ताको गुनासो छ । गुणस्तर बारे पनि बेला–बेला गुनासा हुने गरेका छन् । अनुगमनको समयमा गुणस्तर भने नहेरिएको आयल निगम चारआली डिपोका प्रमुख कार्कीले बताए । ‘पम्प नै बन्द गराइएपछि गुणस्तर हेर्नु जरुरी भएन’– कार्कीले भने ।

गणेश पम्प बन्द भएको आठ दिन बितेको छ । उक्त विषयमा अनुसन्धान जारी रहेको बताइएको छ । उक्त मुद्दा किनारा लाग्न कम्तीमा तीन महिना लाग्ने बताइन्छ । मुद्दा किनारा नलागेसम्म पम्प सञ्चालन गर्न नमिल्ने बताइएको छ । गुणस्तर तथा नापतौल प्रमुख ओझाका अनुसार कसुर अनुसार उक्त मुद्दा अदालतमा समेत दायर हुन सक्छ । त्यसको निर्णय भने विभागले गर्ने बताइएको छ । स्रोतका अनुसार पेट्रोलपम्पहरुले गुणस्तर तथा नापतौल कार्यालयका शिल तोड्ने, नक्कली शिल लगाउने गरेर उपभोक्ता ठगी रहेको सूचनाको आधारमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत विशेष अनुसन्धान गरिरहेको बताइएको छ ।

यदि गणेश पम्पले कार्यालयको शिल तोडेको र अन्य ठाउँमा नक्कली शिल लागेको पुष्टि भएमा गम्भीर कार्वाही हुने विभागले जनाएको छ । उक्त पम्पको एसेम्ब्लीको तल्लो भागमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले शिल राखेको मुचुल्कामा उल्लेख छ, तर अनुगमनमा त्यहाँ शिल नदेखिएपछि पम्प सञ्चालकको नियतमा शंका गरिएको हो । नाप तौल ऐन २०२५ दफा ३० (३) तथा ३० (१) बमोजिम कार्वाही भए जरिवाना र तीन बर्षसम्म कैद वा दुबै हुन सक्ने व्यवस्था छ ।

यसैबीच मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष मार्स प्रसाईंले उक्त विषयमा आफूलाई जानकारी नभएको तर दाजुभाइको अंश विवादका कारण बन्द भएको भन्ने सुनेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)