Aamsanchar

बिर्तामोड महोत्सवमा खेल सामाग्री र सांगीतिक माहोलको छुट्टै आकर्षण

Author Image
शुक्रवार, माघ १८, २०७५

बिर्तामोड।

बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामाग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामाग्रीमा बालबालिकादेखि युवा सम्मको आकर्षण छ ।

महोत्सवमा भारतको दिल्लीस्थित सोनी एनिजमेन्टले बाल उद्यान तथा खेल सामाग्री राखेको छ । रोटे पिङ, रसियन, मौतका कुवा, कोलम्बस, ड्रागन, ब्रेक डान्स, मिक्की माउस, हेलिकप्टर, स्करपियो, हात्ती, जम्पिङ जस्ता खेल सामाग्री राखिएको एनिजमेन्ट दिल्लीका मोहम्मद साजिदले जानकारी दिए ।

यसबाहेक नौला खेल सामाग्रीमा चान तारा र टोरा टोरा राखिएका छन् । यी दुबै हाइड्रोलिक सिस्टम हुन् । उनका अनुसार महोत्सव आउनेमध्ये पिङ खेल्नेहरुको संख्या बढी छ । बालबालिका, प्रेम जोडी र युवावस्थाकाले रोटेपिङ खेल्ने गरेको उनले बताए । बच्चाले सबैभन्दा बढी मन पराएका खेल सामाग्रीमा मिकी माउस, हेलिकप्टर र हात्ती हुन् ।

महोत्सवमा सांगीतिक कार्यक्रममा झुम्न आउनेहरुको छुट्टै जमात छ । राष्ट्रिय तथा स्थानीय कलाकारले साँझमा प्रस्तति दिइरहेका छन् । हालसम्म सविन राई, राजन शिवाकोटी, प्रेम आङ्देम्बे र मेलिना राई, राजेश पायल राई, ताराप्रकाश लिम्बू, निलम ढुंगाना, प्रमोद खरेल, राज सिग्देल, हर्कुलस बस्नेत, अञ्जु गौतम लगायत कलाकारले स्टेज तताइसकेको महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।

उनका अनुसार शनिबार आस्था राउत र शैलेन्द्र सिंखडाको विशेष प्रस्तुति रहनेछ । महोत्सवभरमा टिका प्रसाईं, जुनु प्रसाईं, एड्रिन प्रधान, चन्दा देवान, यदय र मनिला सोताङको पनि प्रस्तुति रहने बताइएको छ ।

यसैवीच शुक्रबार तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । परिषदको बिर्तामोड नगर परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका केन्द्रीय सदस्य जलकुमार गुरुङ, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष गोपाल राई, महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी लगायतले बोलेका थिए ।
जातीय भेषभुषामा सजिएका गुरुङहरुले गीत र नृत्य प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता धनकुमार गुरुङ (डिके)ले गरेका थिए ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आठौँ दिन शुक्रबारसम्ममा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरिसकेको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनका अनुसार महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियसम्मका उत्पादन किन्न आउनेको भीड बढेको छ ।

२ सय १० वटा स्टल रहेको महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहेको संयोजक प्रकाश सिवाकोटीले वताए । महोत्सवको प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाएर अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा राखिएको छ ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदान कार्यक्रममा हालसम्म ७५ जनाले रगत दान गरेको महोत्सव स्वास्थ्य उपसमिति संयोजक गौरीशंकर गुप्ताले जानकारी दिए । महोत्सव २३ माघसम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर