झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले मंगलबार एक कार्यक्रम गरी जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी प्रमुख राजेश राईलाई विदाइ गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख राईलाई यायोक्खा झापाका सल्लाहकार कुमार हाङ्छेन राईले फेटा गुथेर विदाइ गरेका हुन् । १६ महिना अघी झापाको प्रमुख भएर आएका प्रहरी निरीक्षक राईले आफ्नो कार्यकाल कुशलता पूर्वक सम्पन्न गरी १ नम्बर प्रदेश कार्यालय इटहरी सरुवा भएपछि यायोक्खाले विदाइ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै सल्लाहकार राईले विदाइको क्षण दुःखदायी भएपनि आफ्नो जातिको व्यक्तित्व जिल्लाप्रमुख भएर विवादरहित कार्यकाल सम्पन्न गरेकोमा खुशी व्यक्त गरे । उनले प्रमुख राईलाई सम्मान पत्र समेत प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख राईले आफ्नो कार्यकालम आफ्नै जातीय संस्थासँग सहकार्य गर्न नपाएको भन्दै दुःख व्यक्त गरे । आफु जिल्ला बाहिर रहेपनि सधैँ झापा र बिर्तामोडका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सोही कार्यक्रममा भर्खर सरुवा भएर इलाका प्रहरी कार्यालय अनारमनीमा आएका प्रहरी निरीक्षक श्रीप्रसाद राईलाई पनि स्वागत गरियो । त्यस्तै, इप्रकामै सरुवा भएर आएका प्रहरी सहायक निरीक्षक किरण राईलाई पनि स्वागत गरिएको थियो ।

प्रारम्भिक समितिका अध्यक्ष बेनुप राईको अध्यक्षतामा भएको कार्यक्रममा यायोक्खा झापाका सदस्य अर्जुन राई, किरात राई सुम्निमा संघ झापाकी अध्यक्ष चिजा राई लगायतले बोलेका थिए । समितिका सचिव गोपाल राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य मुना राईले स्वागत गरेकी थिइन् ।

