Aamsanchar

घरबास बनाउँदै सहकारी

Author Image
सोमवार, चैत ४, २०७५

भद्रपुर,

स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ ।

सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सो सहकारीलाई चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ । उक्त रकम र सहकारीकोसमेत लगानीमा घरबास बनाउन शुरु गरेको सहकारीका अध्यक्ष मीना ढकालले बताउनुभयो ।

सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्न देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिक जसो यहाँ आउने गरेका छन् । सहकारी अवलोकनमा आउने पर्यटकलाई स्थानीय परिकार सहकारीमै बनाएर खुवाए पनि बास बस्नेका लागि दमक र बिर्तामोडका होटलमा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न घरबास बनाउन शुरु गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

“गौरादहमै व्यवस्थित होटल, लज नभएको हुँदा सहकारीमै होमस्टे पर्यटकका लागि राम्रो विकल्प हो’, उहाँले भन्नभुयो, “होमस्टेमा पाहुना बसेपछि हाम्रो परियोजना हेर्न र बुझ्न सजिलो हुन्छ ।”उहाँले घरबासमा बस्ने पर्यटकलाई आफ्नै सहकारीको पोखरीका स्थानीय माछा, कुखरालगायत बारीमा उत्पादन भएको खानेकुरा खुवाउने बताउनुभयो ।

घरबास तीन महीनामा सञ्चालनमा आउने छ । प्रदेश नम्बर १ मै सहकारीले सञ्चालन गर्ने घरबास यो नै पहिलो हुने संस्थाको दाबी छ । घरबासको क्षमता ४० जना अट्न सक्ने हुनेछ ।

घरबासमा बाह्य तथा आन्तरिक पर्यटकलाई नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपानलगायतमा विशेष ध्यान दिने सहकारीले जनाएको छ । विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ भएको सो संस्था चार वर्षपछि सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो ।

कूल ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ महिला शेयर सदस्य छन् । सहकारीले मौसमअनुसारको खेती गर्छ । सहकारीले उत्पादन गरेको धान, मकै, गुहँ, तोरी भने बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको अध्यक्ष ढकालको भनाइ थियो । यो सहकारी देशकै नमूना सहकारीको रुपमा रहेको छ ।

Views: 128

प्रतिक्रिया (०)