Aamsanchar

बाढी पहिरो पीडितलाई दुई लाख दिने प्रदेश १ सरकारको निर्णय

Author Image
सोमवार, असार ३०, २०७६

प्रदेश १ मा मृत्यु हुनेको संख्या २० पुग्यो

विराटनगर : बाढी र पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले राहतस्वरुप तत्काल २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले नियमित विपद् कोषमार्फत तत्कालको राहतस्वरुप रकम दिने निर्णय आइतबार मन्त्रिपरिषद् बैठकमा भएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बाढी र पहिरोमा घाइते भएकाहरुको निःशुल्क उपचार सरकारले गर्ने जानकारी दिए । प्रदेश १ मा बाढी र डुबानका कारण जनधनको धेरै क्षति भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक आइतबार बोलाइएको थियो । अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई विराटनगर आएलगत्तै आकस्मिक बैठक बोलाइएको हो ।

विपदमा क्षतिको अवस्था र राहतका विषयमा आगामी मन्त्रिपरिषद् बैठकले थप निर्णय लिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले बताए । उनले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र पीडितहरुको उद्धारमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको उनको भनाइ छ ।

प्रदेश १ मा बाढी र पहिरोमा परेर आइतबार साँझसम्ममा २० जनाको मृत्यु भइसकेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार सबै भन्दा बढी भोजपुर र ओखलढुंगामा ५/५ जनाको मृत्यु भएको छ । खोटाङमा तीन, उदयपुर र झापामा दुई/दुई, इलाम, पाँचथर र सुनसरीमा एक/एक जनाको मृत्यु भएको एसएसपी दाहालको भनाइ छ । बाढी र पहिरोमा परेर १६ जना घाइते र ९ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले चार हजार बढी परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)