Aamsanchar

उपभोक्ता सचेत हनुपर्ने भयो, लाइफ केयर, शास्वत र माईधामको पानी गुणस्तर हिन बिक्री हुदै

Author Image
बुधवार, भदौ ४, २०७६

पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाका केही उद्योगले उत्पादन गरेको पानीको पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ ।

आज मंगलबार झापाको बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तर : अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशाला स्थलमै बजारबाट संकलित पानीको नमूनाको पिएच परीक्षण गरिएको थियो ।

त्यसक्रममा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको बताए । पिएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुईवटा झापा बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।
संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताइन् । उनले गुणस्तरीय उत्पादन तथा उपभोक्ताको हित संरक्षणमा जोड दिएकी छिन् ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यशालामा चार बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ । उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उपभोक्ता हित संरक्षणका लागि नियमित रुपमा पिउने पानी उत्पादन र बिक्री वितरणको अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता समेत नियमनकारी निकायको तर्फबाट व्यक्त गरिएको छ । उपभोक्तावादी संस्थाले स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय गरी उपभोक्ता हित संरक्षणका लागि सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

के हो पिएच ?

पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८.५ पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ । पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ ।

६ पिएचभन्दा तलको पानीलाई अम्लिय अर्थात् एसिडिक भनिन्छ । ८.५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतम्भन्दा कम रहेको बताइन्छ । ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने विज्ञहरुले बताएका छन् ।

कुन पानीको पिएच कति ?

मंगलबार बजारबाट २० ब्राण्डका पानीको नमूना संकलन गरी डिजिटल प्रविधिबाट पिएचको मात्रा मापन गरियो । जसमा शाश्वतको पिएचको मात्रा ५.६ पाइयो । त्यस्तै हिमालयन ६.५, प्युरिकम ६.५, मकालु ६.७, सुनमाइ झरना ७,३, बेला ६.४, बेल्ली ६.७, तृष्णा ६.0, कञ्चन ६.४, लाइफ केयर ५.७, एक्वामेरी ६.२, ओसिस जल ६.२, माइधाम ५.६, कनकाई ६.१, लाइफ लाइन ६.१, इस्ट स्प्रिङ ६.२, किन्ले ७.१, डियु ड्रब्स ६.२, जिरो एक्वा ६.२ रहेका छन् ।

बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्ने पानीमा पिएचको मात्रा ६.८ फेला परेको छ । त्यस्तै बिर्तामोड निवासी ओमकृष्ण विमलीले आफ्नो ट्वीबेलको पानी परीक्षण गराउँदा पिएचको मात्रा ६ पाइएको थियो ।

विज्ञहरुको सुझाव :

विज्ञहरुले स्वस्थ र गुणस्तरीय पानी पिउन उपभोक्तालाई आग्रह गरेका छन् । उनीहरुले व्यापारको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड नगर्न उत्पादकहरुलाई सुझाएका छन् । कार्यक्रममा मेची बहुमुखी क्याम्पस रसाइन शास्त्रका उपप्राध्यापक जयनारायण मित्रुका, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, अधिवक्ता खगेन्द्र खरेल, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईं, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ लगायतले आ–आफ्नो विषयगत प्रस्तुति राख्दै उपभोक्ता सचेतनामा जोड दिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव एकराज गिरीले गरेका थिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, मारवाडी सेवा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, सुनमाई वाटर प्रालिका अध्यक्ष मिनप्रकाश मैनाली, वीरता जेसीजका अध्यक्ष विशाल थापा, पूर्व अध्यक्ष राजेन्द्र चम्लागाईं, शाश्वत पानीका सञ्चालक आनन्द आचार्य, लाइन्स क्लवका जोन चेयर पर्सन ओमकृष्ण विमली, महिला उद्यमी संघ नेपालकी जिल्ला अध्यक्ष गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, विश्व उपभोक्ता महासंघकी अध्यक्ष सरस्वती चम्लागाईं, विशाल वेभरेजका सञ्चालक बसन्त सोमानी, पत्रकार महासंघका सहसचिव केशव भट्टराई लगायतले विभिन्न सुझाव राखेका थिए । कार्यक्रममा विभिन्न ब्राण्डका पानीका उत्पादक सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर