Aamsanchar

पूर्वाञ्चल विश्वविद्यालय विरुद्ध रिले अनसनमा विद्यार्थी

Author Image
शुक्रवार, मंसिर २०, २०७६

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।
उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु गरेका हुन् । पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरे पनि आफूले लेखेको उत्तरपुस्तिका हेर्दा उत्तीर्ण भएको पाइएको भन्दै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरकै इष्टर्न र आंगिक पुसेट ईञ्जिनियरिङ क्याम्पसनका विद्यार्थीहरू दुई दिनदेखि आन्दोलित थिए । शान्तिपूर्ण रुपमा सुरु गरिएको अनसन प्रत्येक दिन बिहान १० देखि ४ बजेसम्म जारी रहने पुसेटका विद्यार्थी नेता शिवरत्न साहले बताए ।

विभिन्न माग राखेर आन्दोलन गरिरहे पनि सुनुवाई नभएपछि थालिएको रिले अनसन माग पूरा नभएसम्म जारी रहने उनको भनाइ छ । आन्दोलनरत विद्यार्थीले यस अघि तोडफोड गर्दा परीक्षा नियन्त्रक र सह–नियन्त्रकको कार्यालयसहित प्रशासन र लेखा शाखामा क्षति पुगेको थियो । विद्यार्थी नेता मनोजकुमार रैताले विगतमा दिइएका ईञ्जिीनियरिङको लिखित परीक्षामा उतीर्ण हुने गरे पनि परीक्षा दिएका विद्यार्थीलाई जानाजान अनउत्तीर्ण गराउने गरेको पाइएको बताए ।

विद्यार्थीहरुले हरेक सेमेष्टरमा मौका परीक्षाको व्यवस्था हुनु पर्ने, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नु पर्ने, उत्तरपुस्तिका रि–चेकिङको शुल्क पाँच हजारबाट घटाएर पाँच सय बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, रि–चेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नु पर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र जाँच गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग अघि सारेका छन् ।

पुसेटबाट स्नातक तहको सिभिल ईञ्जिनियरिङको थेउरी अफ एक्टेक्चर विषयको परीक्षा पाँच पटक दिइसक्दा पनि उत्तीर्ण नभएका विद्यार्थी अमित मण्डलले प्रक्रियागत रुपमै उत्तरपुस्तिका हेर्न माग गरेका थिए । जाँच भइसकेको उक्त उत्तरपुस्तिकाअनुसार आफू उत्तीर्ण भए पनि अनउत्तीर्ण गराइएको उनको दाबी छ । मण्डलले फेल हुने अवस्था नै नरहेको र उत्तरपुस्तिकाबाट उत्तीर्ण भएको देखिने विषय विज्ञले बताएपछि आफू तनावमा परेको बताए । परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही र बेथिती आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

रिजल्ट आएको ९नतिजा सार्वजनिक० ३५ दिन भित्र रि–चेकिङका लागि निवेदन दिएर लाग्ने शुल्क बुझाएमा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई जाँच भइसकेको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको छ ।विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा। सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहे पनि विद्यार्थी आन्दोलित बनेको बताए । विषय विज्ञलाई देखाएर उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको पाइएमा त्यहीअनुरुप अघि बढ्ने संग्रौलाको भनाइ छ । ‘कुनै कमजोरी भए हामी सच्चिन्छौं र सुधारिएर अघि बढ्छौं,’ उनले भने ।

विद्यार्थीले सुरु गरेको अनसनस्थलमा भने सुरक्षाका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अनसन सुरु गर्नु अघि विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र पनि बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रशासनले सुरक्षा मात्रै हेर्ने र यो विश्वविद्यालयसँग सम्बन्धित विषय भएको बताए ।

पूर्वेली न्युजबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)