Aamsanchar

अर्जुनधारा नगरपालिकामा ५ गुणा बढी रकमको सिंचाई र उपकरण माग

Author Image
शुक्रवार, पौष ४, २०७६


अर्जुनधारा नगरपालिकामा बिनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिंचाई र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा बिभिन्न समुह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए ।

नगरले १५ लाख रुपैंयाँ बिनियोजन गरेर सार्वजनिक गरेको सूचनाका आधारमा ७२ लाख ५४ हजार ८२५ रुपैंयाँ बराबरको आवेदन परेको हो । आवेदन गर्नेमा अधिकांस कृषक समुह रहेका छन् । केही ब्यवसायिक कृषि फर्मले पैनी मर्मत र मोटर खरिदका लागि माग गरेको भएपनि कृषि सहकारीको उपस्थिती नगन्यमात्रामा रहेको पाइएको छ ।

नगरपालिकाले कार्तिक १८ गतेदेखि १ महिनाको म्याद राखेर सिंचाई आवश्यक पर्ने किसानलाई आवेदन दिन सुचित गरेको थियो । सो समयमा परेका निवेदनमाथि अध्ययन शुरु गरिएको गिरीले बताए । उनले लाभान्वित हुने जनसंख्या, उत्पादन र प्रभावकारीताका आधारमा परियोजना छनौट गरिने बताए । ब्यवसायिक तरकारी खेती र फलफूल उत्पादनलाई प्राथमिकता दिएर सिंचाईको सुविधा उपलब्ध गराउने गिरीले बताए ।

अनुदान लिने र सदुपयोग नगर्ने परिपाटी बिकास भएपछि नगरपालिकाले अनुगमन शुरु गरेको मेयर हरिकुमार रानाले बताए । फिल्डबाटै अध्ययन गरेर सिंचाईको आवश्यकता अध्ययन गरेपछि अन्य श्रोतबाट बजेट जुटाउन पहल गर्ने उनको भनाई थियो । नगरपालिकाको मुख्य ध्यान त्यस स्थानमा कृषिको बिकास गर्नका लागि भएको भन्दै मेयर रानाले वास्तविक किसानसम्म राज्यको पहुँच पुर्याउन आफै अनुगमनमा निस्किएको बताए ।

कृषिमा पनि खासगरी मासु, दुध, धान, मकै, तरकारी र फलफुलको लागि पकेट क्षेत्र घोषणा गरेर तिब्रगतिमा कार्यान्वयन गरिरहेको मेयर रानाले जनाए । उपमेयर कमला खतिवडाले प्राथमिकताको क्षेत्र अनुसार किसानलाई अनुदान दिने बताइन् । उनले सरकारको अनुदान वास्तविक किसानसम्म पुर्याउने नगरपालिकाको योजना भएकाले अनदान रकमलाई हौसलाका रुपमा लिन समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर