
रौतहट – सर्लाहीको कौडेना गाउँपालिका– १ लक्ष्मीपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रविन्द्र गिरीका ३ बर्षीय छोरा आदित्य गिरी रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको भए पनि उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला समेत गरेका थिए । अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २५ जनाको प्रहरी टोली खटिएको थियो । पछि सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको र कानुनी प्रक्रिया पूरा गरी राति शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।


