माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।
कलियुगमा भगवानको नाम जप्नुलाई नै सवैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रुपमा लिइन्छ । एकादशीमा भगवान बिष्णु नाम लिने तथा आराधनाको महत्वपूर्ण दिन हो । अरु एकादशीका दिन झैं भीमा एकादशीका दिन पनि रात्री जाग्राम बस्ने र बिष्णुको किर्तन गर्ने गरिन्छ । भीमा एकादशीका दिन भगवान बिष्णुलाई धुप, दिप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा रहेको छ ।
कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ । भीमले एकादशीको ब्रत बसेका कारण सवै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख गरिएको छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्टपत्निले पति, अधर्मले धर्म, कुमन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्दछ, ठिक त्यस्तै विपरित भीमा एकादशीको ब्रतले सवै पापहरुलाई त्यसैगरी नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरुपत्नि गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सवै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको ब्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठुलो मानिएको छ ।
भीमा एकादशीका दिन बिष्णुरुपि वराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्रपत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दिप प्रज्वलन गरी ॐ वराहाय नमस् मन्त्र उच्चारणगर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएकोवराह पूजाले समस्त मानव प्राणी पित्रृ, गुरु र देवु तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ।