Aamsanchar

लोभले लाभ,लाभले विलाभ बनायो व्यवसायीलाई

Author Image
आइतवार, माघ २६, २०७६

चितवन। झण्डै डेढ महीनाअघि उत्पादन बढी भएर कुखुराको मासु पर्याप्त विक्री हुन नसकेको चितवनमा हाल उत्पादन घटेपछि बजारमा मासुको मूल्य ह्वात्तै बढेको छ ।

यसअघि प्रतिकेजी रू। २४० देखि २६० सम्म उपभोक्ताले तयारी मासु किन्दै आएपनि अहिले यसको मूल्य वद्धि भएर प्रतिकेजी रू। ४०० सम्म पुगेको छ । बजारमा मागको अनुपातमा आपूर्ति नहुँदा मूल्य बढेको व्यावसायीहरुको भनाइ छ । तर किसानहरु मासुको मूल्य बढ्दा पनि आफूहरुले मुस्किलले लागत मूल्य पाएको दाबी गर्छन् ।

नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेल ब्रोइलर पाल्ने किसाननै पलायन भएको कारण मासुको आपुर्ति कम भएको बताउंँछन् ।

‘करीब ३ महीना अघिनै ५० प्रतिशत किसानले ब्रोइलर पाल्नै छोडेका छन्, अहिले त्यसैको असर परेको हो’, उनले भने । हालको मूल्यले किसानलाई राहत पुगेपनि फाइदा भने नभएको उनले बताए ।

‘अहिलेपनि हाम्रो लागत मुल्य प्रतिकेजी रू  २२० छ, तर रू २२६ मा विक्री गर्नुपरेको छ ।’ उपभोक्ताले प्रतिकेजी रू। ४०० सम्म तयारी मासु किन्नुपर्ने बाध्यता भएपनि वीचको मूल्यलाई सन्तुलन ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष हरिकृष्ण लोहनी बजारमा कुखुराको माग अत्याधिक भएपनि चाहेअनुसार कुखुरा नपाएको बताउँछन् । ‘ब्रोइलर पाल्ने किसाननै छैनन् अहिले’, उनले भने, ‘कुखुरा नभएपछि मुल्यत स्वभाविक बढ्छनै ।’

‘प्रतिकेजी हामीले रू। २ देखि ५ भन्दाबढी नाफा लिएकै छैनौं’, उनले भने, ‘त्यति हुँदा पनि हिजोआज काठमाडौंबाट अर्डर आउन कम भइसक्यो ।’ तर मासु व्यावसायी भने कुखुराको मासुमा उत्तारचढाव आइराख्ने बताउंँछन् ।

चितवन भ्याली कोल्ड स्टोरका सञ्चालक एवं नवलपुर चितवन दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे जाडोमा किसानले कुखुरा पाल्न कम गर्ने हुनाले मासुको मूल्यमा वृद्धि भएको बताउंँछन् ।

‘एकत ब्रोइलर पाल्ने किसाननै घटिसकेका छन्, विस्तारै मौसम अनुकुल भएपछि उत्पादन फेरी बढ्छ’, उनले भने । मासुको मूल्य वृद्धि हुनुमा डेढ महीनाअघि नेपाल ह्याचरी संघले गरेको चिकेन होलिडेको असर अहिले परेको अधिकांशको बुझाइ छ ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल चिकेन होलिडेका कारण कुखुराको उत्पादन कम भएको नभई संयोग मात्र भएको बताउँछन् । ‘ब्रोइलर उत्पादननै कम भएर हो मासुको उत्पादन कम भएको’, उनले भने, ‘पहिले उत्पादन पनि बढी थियो , किसान पनि बढी थिए ।’

अहिलेको मूल्य किसान, व्यावसायी र उपभोक्ताको हितमा समेत रहेको उनको तर्क छ । ‘एउटा चल्लाको ह्याचिङ रेटनै रू। ५० पर्छ’, उनले भने, ‘अहिले रू।५५ मा बेचेका छौं ।’केही समयको लागि बजारमा मासुको मूल्य उच्च भएपनि विस्तारै सन्तुलित दरमा कारोबार हुने उनले बताए ।

बिचौलियाको बिगबिगी सुरु :

उत्पादन बढी भएको जनाउंदै पोल्ट्री व्यवसायीले गरेको १० दिने ‘चिक्स होलिडे’ को असर बजारमा अहिले देखिन थालेको छ । गत मङ्सिर २९ गते देखि पुष ८ गते सम्म ह्याचरीबाट उत्पादित ब्रोईलर, कलर ब्रोईलर र क्रोईलर चल्ला बिक्रि वितरण र ओसारपसार बन्द भए संगै कुखुराको उत्पादनमा देखिएको कमीले बजारमा कुखुराको मासुको मूल्य अहिले सम्म कै उच्च देखिएको छ ।

पशु सेवा विभागका अनुसार १ करोड २० लाख किलो मासु उत्पादनमा कमि आएको तथ्यांक पाईएको छ ।बढी उत्पादन भएर चल्ला मारेका व्यवसायीले ३ महिना पछि बजार पाउने सोचे पनि बजारमा डेढ महिना नबित्दै कुखुराको मासु अभाव भई उच्च मुल्य कायम भएको छ ।

बजारमा माग अनुसार कुखुराको मासु अपुग रहँदा भारतबाट अवैध रुपमा कुखुराको मासु तस्करी भईरहेको जानकारहरु बताउँछन् । भारतबाट सस्तोमा ल्याएर महंगोमा बिक्रि गर्न पाईने भएकाले बिचौलियाहरुको बिगबिगी सुरु भएको हो ।

नेपालको तुलनामा भारतमा प्रति किलो ४० रुपैयाँ सम्म सस्तो रहेकाले कुखुरा भारतबाट नेपाल कागतपत्र बिना नै कुखुराको आयात भएको हो । ठाउँ ठाउँमा रहेका पशु क्वारेन्टाइन कार्यालयको काम त्यति प्रभावकारी नभएको गुनासो सुनिन थालेको छ ।

बजार पाउने लोभले चल्ला मारेका व्यवसायीहरुले अहिले चल्ला मारेको पापको सजाय भोग्न बाध्य भएका छन् । आफ्नो फार्मका कुखुरा सबै रित्तिएपछि भारतबाट कुखुरा आयात हुन थालेपछि व्यवसायीहरु झस्किएका छन् ।  श्रोत : कृषि पत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर