Aamsanchar

आज कुम्भ संक्रान्ति, महत्व यस्तो रहेकोछ

Author Image
बिहिवार, फागुन १, २०७६


माघ महिनाको कठ्याङ्ग्रिदो चिसोलाई छिचोल्दै हामी अब फाल्गुनको रङ्गीन दैलोमा आईपुगेका छौं । सौर्यमण्डलमा रहेको एउटा तारा उत्तरोफाल्गुनीको नाममा यस महिनाको नाम फाल्गुन राखिएको हो । महिनाको प्रथम दिनलाई संक्रान्ति अनि अन्तिम दिनलाई मसान्त भनिने कुरा त हामीलाई थाहै छ । फाल्गुनको यो संक्रान्तिले अर्थात् फाल्गुने संक्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रङ्गहरुमा रमाएर मनाइने चाड भएको यस फाल्गुन महिना विशेष छ । हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका विरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् भने गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट विरूवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो बसन्त र वालीनालीले पहेँलपुर पारेका मैदानहरुले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बिजारोपण गर्नसकोस् ।

आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा बसन्त ऋृतुको स्वागत गरेर मनाईने चलन छ । बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज पोहेला फाल्गुनु अथवा बसन्तो उत्सवु मनाउने गर्दछन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यसअर्थमा फाल्गुनको प्रथम दिन अर्थात् संक्रान्तिका रुपमा मनाईएको प्रष्ट हुन्छ ।

नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तैः आलू, कोभी, खुर्सानी, करैलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाईएको खानेकुरा) खाएर अनि औपचारीक रुपमै जाडोका कपडाहरुलाई थन्क्याएर सेतो या पहेँलो कपडा पहिरिई बसन्तको स्वागत गर्दै बसन्त उत्सवकै रुपमा मनाईन्छ ।

माघ महिनामा धेरै विवाह भोज अनि शुभकार्य लगायत भेलामा सामेल भएर थाक्नुभएको छ भने यो बसन्तको महिना फाल्गुनले तपाइलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिवाट कुम्भ राशिमा प्रवेश गर्दै छ, सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभाष हुन्छ । यससंगै अब भने सुस्तरि सुस्तरि बतास चल्न थाल्नेछन् । खेतमा भएका धान काटेर लगाईएका अन्नहरु अब पाक्न थालेका छन्, तराई क्षेत्रमा गहुँका बालाले खेतहरु पहेँपुर भइसकेकाछन् । अब कठ्याङ्ग्रिदो चिसोले छोट्याएको समयलाई चिर्दै अब कोईलीको कुहु कुहुले न्याना अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मनपर्नेहरुलाई अबका साँझहरु हिउँदकाजस्ता छोटा र झमक्कै रातपर्ने खाले नभई लामा र रसिक बनाउने छ ।

बसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋृतुको समय ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर