Aamsanchar

नेपालमा कोरोना महामारी भएको छैन, ढुक्क पर्ने अवस्था पनि छैन, पूर्व तयारी यस्तो छ प्रदेश १ को

Author Image
बिहिवार, फागुन २२, २०७६

झापा। प्रदेश सरकारले कोरोना संक्रमणको विषयमा सतर्कता अपनाउन र पूर्वतयारी स्वरूप विभिन्न ६ वटा अस्पताल २८ वडा बेड तयार गरिएको जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशसभाको बिहीबारको बैठकमा त्यसबारे जानकारी गराएका छन् ।

सदनमा उठेको विषयमा जवाफ दिँदै कोरोनाको विषयमा अनावश्यक त्रास फैलाउने वा अफवाह फौलाउन नहुने बताए । उनले प्रदेशका विभिन्न ६ वटा अस्पतालमा बेड तयार गरिएको बताए । मन्त्री घिरिमेले भने, ‘‘आइसोलेसन वार्ड तयार गरिएको छ । अझ प्रबन्ध गर्ने सरकारको तयारी छ ।’’

प्रकोप बारम्बार आउने भएकाले नियमन गर्नका लागि प्रदेश सरकारले आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र कोसी अस्पताल परिसरमा निर्माण गरिएको जनाए । यसलाई दुई चारदिनभित्रै सञ्चालनमा आउने सुनाए ।

कोरोना विश्वभर फैलिएको र नेपाल उच्च जोखिममा रहेको भन्दै घिमिरेले उच्च सतर्कता र सावधानी अवलम्बन गरेको बताउँदै भने, ‘‘यसको अर्थ उत्पात भइसक्यो । कहालीलाग्दो अवस्था र ज्यान जान लागिसक्यो भन्ने रूपमा बुझ्नु हुन्न । तर, सचेतना अपनाउनु पर्छ ।’’ कोरोनाको बारेमा अतिरञ्जना गर्ने, कालाबजारी गर्ने र अनुचित लाभ लिने क्रम बढेकाले सावधानी अनि सचेत हुन पनि मन्त्री घिमिरेले आग्रह गरे ।

प्रदेश सरकारले कोशी अस्पताल, बीपी प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेजमा आईसीयूसहित र विराट मेडिकल कलेजमा बेड तयार गरिएको हो ।

भारत सीमामा निगरानी
प्रदेश १ मा चीनसँगको सीमा बन्द गरिएको तर भारततर्फ भने आउजाउ गर्ने मानिसको स्वास्थ्य अवस्था बुझ्ने काम थालिने भएको छ । जोगबनी, पशुपतिनगर र काकडभिट्टामा स्वास्थ्यकर्मीको टोलीले आउजाउ गर्ने मानिसको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध गरेको छ ।

मन्त्री घिमिरेले भने, ‘‘यस विषयमा भारतीय समकक्षीसँग पनि छलफल गर्दैछौं ।’’ संघीय सरकारको प्रतिनिधिमण्डल प्रदेश १ मा आएर सीमा तथा अस्पतालमा भएको तयारीबारे जानकारी लिनुका साथै छलफल गरेको थियो । खुला सीमा भएका कारण भारतीय सीमामा नेपाली तथा भारतीयहरू बिनारोकटोक आउने जाने गर्छन् । सीमामा हेल्थ डेस्क राख्ने सरकारले तयारी थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)