Aamsanchar

अहिले सरकारलाई भ्रमण बर्ष २०२० निल्नु कि ओकल्नु

Author Image
शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । अहिले सरकारलाई भ्रमण बर्ष निल्नु कि ओकल्नु भएको छ। पर्यटक आउने स्रोत मुलुकमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले नेपाल भ्रमण वर्षको प्रचारप्रसार स्थगित गर्ने भएको छ । विदेशमा प्रबर्द्धनात्मक कार्यक्रम स्थगित गरेर आन्तरिक पर्यटनमा केन्द्रित गर्ने तयारी छ। भ्रमण वर्षमा ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले अलग्गै संयन्त्र खडा गरी प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गरे पनि एक महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले यो अभियान पनि प्रभावित हुन पुगेको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक भारत र चीनबाट आउने गरेकामा यो वर्षको पहिलो दुई महिनामा ती दुवै देशका पर्यटक घटेका छन् । अन्य देशका पर्यटकले पनि धमाधम होटल बुकिङ रद्द गरिरहेका छन् । कोरोनाको डरले कतिपय मुलुकले त अन्तर्राष्ट्रिय उडान नै रद्द गरेका छन् । यस्तोमा आफ्नो प्रचार प्रसार औचत्यहिन हुने अवस्था र सार्वजनिक टिप्पणीपछि सरकार विदेशमा भ्रमण वर्षको प्रबर्द्धन स्थगित गर्ने निष्कर्षमा पुगेको छ । पर्यटन मन्त्री योगेश भट्टराइले शनिबार एक सार्वजनिक समारोहमै यसको जानकारी दिए । त्यसो त कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नै सन्त्रास फैलिएका बेला सरकारमाथि भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने दबाब भयो। भ्रमण वर्ष मनाउनुको साटो संक्रमण फैलिएका मुलुकमा उडानसमेत नियन्त्रण गर्नुपर्ने आवाजसमेत भइरहेको छ । त्यसैले यो, आन्तरिक पर्यटनलाइ बढावा दिने अवसर पनि हुनसक्छ । अहिले प्रबर्द्धनात्मक कार्यक्रम स्थगित गरेर मात्र पुग्दैन, कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पनि सावधानी अपनाउनु जरुरी छ ।

दुई महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन र प्रचार गर्न अष्ट्रेलिया पुग्दा त्यहाँ आगलागीको कोलाहल थियो । भीषण आगलागीका दर्दनाक समाचार र तस्वीर मिडियामा आइरहेका थिए । मन्त्री भट्टराई भुतले खाजा खाने समयमा अष्ट्रेलिया पुगेजस्तो भयो ।

त्रासदीकै माहोलमा मन्त्री भट्टराई सिड्नीको सडकमा नेपाल भ्रमण वर्षको प्रचार र्‍यालीमा सहभागी भए । पीडामा छटपटाइरहेको देशमा भ्रमण वर्षको प्रचार गर्न गएर असभ्यता एवं संवेदनहीनता देखाएको भनेर पर्यटनमन्त्री भट्टराई आलोचनाको घेरामा छन् अज ।

कार्यक्रम पूर्वनिर्धारित थियो, ठीक छ । तर, परिस्थिति हेरेर त्यसलाई रद्द गर्दा देशलाई केही आर्थिक नोक्सानी हुन्थ्यो होला, रद्द नगर्दा देशको छविमा नोक्सानी भयो । नेपालीको मानवीय भावनामा प्रश्न उठ्यो ।

अहिले नेपालले चिनियाँ पर्यटक आएनन् भनेर पुर्पुरोमा हात लगाउने समय धेरै भए । चीन चाँडोभन्दा चाँडो कोरोना भाइरसबाट मुक्त होस् भनेर कामना गर्ने, अनि उसलाई साथ दिने समय छ । चीनको सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई घरबाट बाहिरसमेत निस्कन नदिएर संरक्षण गरिरहेको छ । अनि, नेपालले चाहिँ ‘नेपालमा कोराना छैन है, घुम्न आओ’ भन्दै सञ्चार माध्यममा फुक्दा कस्तो सन्देश जाला ?

केही समय अगाडि यस सम्वन्धमा स्पष्टीकरण दिँदै मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन । नेपाल आजसम्म सुरक्षित छ । हामीले उच्च सतर्कता अपनाएका छौं । मित्रराष्ट्र चीनलाई सिंगो नेपालको ऐक्यवद्धता छ । यो सन्देश विश्वभरि फैलाऔं भन्ने कुरा किन गरियो ?

हो, नेपालमा आजका मितिमा कोरोना संक्रमित कोही भेटिएका छैनन् होला। संक्रमण देखिएका बिरामी पनि अहिले सञ्चो भइसकेका छन् भने नयाँ कुनै केस आएका छन् होला । तर, पनि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० नेपाललाई कोरोनाको जोखिम राष्ट्रकै सूचीमा राखिरहेको छ । चीन र नेपालको निकटता अनि आवागमनले गर्दा संक्रमणको जोखिम अझै पनि अरु राष्ट्रको भन्दा धेरै छ ।

अहिले पनि चीनबाट आउने यात्रुहरुको विमानस्थलमा राम्रो निगरानी नहुने गरेको रिपोर्टहरु आइरहेका छन् । त्यसैले हामीले ‘संक्रमणमुक्त छौं’ भन्दैमा विदेशीहरुले पत्याइहाल्न नसक्लान् ।

ठीक छ, आजका मितिमा नेपाललाई कोरोनामुक्त नै मानौं। तर, पर्यटन प्रवद्र्धनका लागि यसैलाई हतियार बनाउन मिल्छ कि मिल्दैन ? कोरोनाको खानीमै गएर ‘हामीलाई त सरेको छैन है’ भन्दै झ्याली पिट्दा त्यसको के अर्थ लाग्छ ? एउटा अखबारले मास्क लगाएका माओत्सेतुङको तस्वीर प्रकाशित गर्दा आक्रामक विज्ञप्ति जारी गर्ने देशले सरकारबाटै यस किसिमको रवैया भयो भने सामान्यरुपमा लेला ? या आफ्नो देशको विपत्तिमा नेपालले व्यापार गर्न खोजेको अर्थमा बुझ्ला ?

नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्री भट्टराईले सबै उपायहरु लगाइरहेका थिए। तर, समयले उनलाई साथ दिएको छैन । भट्टराईले अब तत्काललाई होइन, भविश्यलाई हेरेर काम गर्नुपर्छ । यसपालि लक्षित संख्या नपुगोस्, तर भ्रमण वर्षले भविश्यका लागि आधारशिला खडा गर्न सक्छ । आज नेपाल आउन नसकेका चिनियाँ पर्यटक भोलि आउन सक्छन् ।
पर्यटन मन्त्रीले पत्रकारहरुसँग भनेका छन्, ‘कोरोनामुक्त भएसँगै चिनियाँ पर्यटकहरु वाफ उडेजसरी देश बाहिर निस्किन्छन्, त्यसको लाभ हामीले लिन सक्छौं । तपाईं आफै भन्नुहोस् न तपाईंको मिल्ने साथी बिमारी हुदा कस्तो हुन्छ।

नेपालले अहिलेसम्म कोरोना भाइरसबाट बच्न गरेको पूर्वतयारी नाम मात्रको रहेको टिप्पणी भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेको हो । डब्लूएचओले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानस्तानलाई समेत कोरोना भाइरसको अतिउच्च जोखिम भएको देशको सूचीमा राखेको छ। कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना देखिएको छ । नेपालको वैदेशिक व्यापार, रेमिट्यान्स, पर्यटन, विदेशी लगानी आदि विभिन्न क्षेत्रमा असर पर्ने देखिन्छ । कोरोना भाइरसको सवैभन्दा ठूलो असर वैदेशिक व्यापारमा देखिएको छ । मुलुकको राजस्वको स्रोत वैदेशिक व्यापार हो । भारतपछि सबैभन्दा धेरै आयात–निर्यात चीनमा हुनेगरेको थियो । वार्षिक दुई खर्ब रूपैयाँभन्दा बढीको सामान चीनबाट आयात हुने भएकोले नेपाली बजारमा उसको हिस्सा १५ प्रतिशतभन्दा बढी थियो । ती सामग्री आयात हुने प्रमुख नाका रसुवागढी माघको दोस्रो हप्तादेखि बन्द छ । चीन तर्फ हवाई सम्पर्क पातलो भएकोले त्रिभुवन विमानस्थलबाट हुने आयात निर्यात पनि कम छ ।मुलुकको झण्डै एक तिहाइ अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । नेपालबाट झण्डै एक सय १० मुलुकका नेपालीहरू कामको खोजीमा विदेश गएका छन् । यो कोरोना भाइरस ५० भन्दा बढी देशमा पुगिसकेको छ । त्यसो हुँदा विदेशमा काम गर्ने नेपालीहरूमा पनि ठूलो सन्त्रास फैलिएको छ । कतिपय युवाहरू सो सन्त्रासको कारणले कामै छोडी आउन थालेका छन् भने कतिपय जाने तयारीमा रहेका युवाहरू पनि नजाने मुडमा छन् ।

अहिले दक्षिण कोरिया ह्वात्तै बढेको छ कोरोना तथा खाडी मुुलुकका कतिपय देशमा कोरोना भाइरस पुगिसकेको र सयौंका संख्यामा यो भाइरसबाट निधन भएको समाचार पनि आइसकेको छ । यस भाइरसले प्रत्यक्ष रेमिट्यान्समा असर पार्ने निश्चित छ । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडी देशमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।कोरोना भाइरसको कारण मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने पर्यटन क्षेत्रमा समेत असर परेको छ । भारतपछि सर्वाधिक चिनियाँहरूले नेपाल भ्रमण गर्छन् । गतवर्ष भित्रिएका करिब १५ लाख पर्यटकमध्ये चिनियाँ मात्रै एक लाख ७० हजार थिए । कोरोनाको संक्रमणपछि चीनबाट मात्रै होइन, अन्य देशबाट समेत पर्यटक आगमन घटेपछि काठमाडौँको ठमेल, पोखरा, भैरवाको लुम्बिनी र चितवनको सौराहलगायतका पर्यटकीय गन्तव्य सुनसान छन् ।भ्रमण वर्षमा चीनबाट कम्तीमा पाँच लाख पर्यटक नेपाल भित्रिने अपेक्षा थियो । यस प्रयोजनका लागि नेपालले चिनियाँ अभिनेत्री स्वी छिङलाई सद्भावना दूत नियुक्त गरेर यथोचित प्रयास पनि गरिरहेको थियो । जनवरी पहिलो साता बेइजिङस्थित नेपाली दूतावासले पनि स्वीछिङलगायत नेपालबाट सगरमाथा आरोहण गर्ने पर्वतारोही, पर्यटन व्यवसायीलगायतको उपस्थितिमा चिनियाँ नागरिकलाई नेपाल भ्रमण निम्तो दिएको थियो । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले समेत मोडलिङलगायतका गतिविधि गरेर चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गरिरहेकी थिइन् । तर, कोरोनाको हल्ला चल्नेबित्तिकै चिनियाँहरूले नेपाल भ्रमणको टिकट रद्द गरेबाट पर्यटन क्षेत्र निराश हुनथालेको छ भने यता नेपाल सरकारले पर्यटन वर्षलाई नै स्थगित गरेको घोषणा गरेको छ । यसलाई सकारात्मकरूपमा लिइनुपर्छ ।कोरोना भाइरसको असर विदेशी लगानी र त्यस्ता लगानी स्वीकृत भइसकेका आयोजना एवं विकास निर्माणका क्षेत्रमा परेको छ । पछिल्लो समयमा नेपालमा चीनबाट सञ्चालित थुप्रै परियोजनाहरू थिए । तर ती योजनाहरू कोरोना भाइरसका कारण समयमै हुन नसक्ने देखिन्छ । पोखरा र भैरवाको दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि कोरोना भाइरसको कारणबाट स्थगित भएको छ । जुन योजनाहरू राष्ट्रिय गौरवका आयोजना थिए ।अन्त्यमा, कोरोना भाइरसले विश्वभर महामारीको रूप लिइसकेको छ ।

केही समयअघि एउटा भिडियो क्लीप भाइरल भयो । एक अमेरिकी पर्यटकले त्रिभुवन विमानस्थलभित्रको शौचालय अत्याधिक फोहोर गरेको भन्दै सामाजिक सञ्जालमा बिल्ला गरेका थिए । उनको स्टाटस भाइरल भएपछि मन्त्री भट्टराईले एक कार्यक्रममा जवाफ दिएका थिए । तर, उनको जवाफ विवादित बन्यो ।

मन्त्री भट्टराईले भनेका थिए, ‘एकजना अमेरिकीले के–के न पत्ता लगाइदिइछन्, वैज्ञानिक नै जस्तो । हाम्रा ट्वाइलेटहरु अलिअलि फोहोर छन् त के ठूलो कुरा भयो र ? तिनका पनि फोहोर नै थिएन नि । सन् १९७० सम्म कालाहरुलाई शौचालयमा दिसा पिसाब गर्न दिन्थे ? आफ्नो इतिहास पनि हेर्नुपर्‍यो नि ।’एउटा विदेशी नागरिकले विमानस्थलको शौचालयमा प्रश्न उठाएको सुनेपछि मन्त्रीले त्यसलाई जवाफ दिइरहनुभन्दा चुपचाप यसमा सुधार ल्याउन सम्वन्धित निकायलाई निर्देशन दिनुपर्थ्यो । जवाफै दिए पनि त्यो नरम र ओजपूर्ण हुनुपर्थ्यो ।

हालै पर्यटन मन्त्रालयले ल्याएको हवाइ नीतिको मस्यौदा पनि त्रुटिपूर्ण मानिएको छ । यसले वायु सेवा कम्पनीहरुलाई न्यूनतम भाडादरको सिलिङ तोक्न प्रस्ताव गरेको छ । अर्थात्, सरकारले तोकेको भन्दा कम मूल्यमा टिकट बेच्न पाइने छैन । यस्तो नीति उपभोक्ताविरोधी भएको भन्दै आलोचना भइरहेको छ । सरकारले भने हवाई उड्डयन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले सिलिङ तोक्नुपरेको तर्क गरेको छ ।

कारण नेपाल भ्रमण वर्षलाई सफल बनाउन चिनियाँ पर्यटकको आगमनकै भर। भारतपछि नेपालले चीनबाट सबैभन्दा धेरै पर्यटक आउने अनुमान गरेको थियो। तर, कोरोनाले यसलाई धक्का दियो।

कोरोना भाइरसको संक्रमणको डरले विश्वले चीन यात्रामा प्रतिबन्ध लगाइरहेको छ। चीनबाट भाइरस फैलिएका अन्य देशमा पनि प्रतिबन्ध लगाइएको छ। इरानबाट आएकाहरुमा पाकिस्तान र अफगानिस्तानमा संक्रमण देखिएपछि उनीहरुले इरानसँगको सीमा र उडान नै रद्द गरे। इटालीको सीमा पनि बन्द गर्नुपर्ने माग उठिरहेको छ। साउदी अरेबियाले पर्यटकहरुलाई मक्का मदिना प्रवेशमा नै रोक लगाइसकेको छ।

हाम्रो सीमा भने सबैका लागि खुल्ला छ। विमानस्थलमा स्क्रिनिङ मेसिन राखिएको छ। तर, आउनेहरु निर्वाध रुपमा कुनै पनि परीक्षण बिना नेपाल प्रवेश गरिरहेको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन्। सीमा नाकाबाट कति कसरी भित्रिए, थाहा छैन। यस्तै यदि कोहीमा भाइरसको संक्रमण देखिहाले पनि उसको उपचारका लागि के गर्ने भन्ने तयारीमा नेपाल देखिँदैन। किन भने नेपाल प्रस्ट छ उसलाई कोरोनाले छुँदैन। चीनको वुहानबाट नेपालीलाई एयर लिफ्ट गरायो। सरकारले मानवीयता देखाएको भन्दै प्रशंसा कमायो पनि। तर, भाइरसविरुद्ध लड्न भने संवेदनशील देखिएन। त्यसैले आम नागरिकहरुलाई चिन्ता छ – नेपालमा कोरोनाको भविष्यलाई लिएर।

ठमेल चिनियाँ नागरिकले भरिभराउ हुन्थ्यो। अहिले मास्क लगाएका थोरै संख्यामा चिनियाँहरु देखिन्छन्। उनीहरु देखेपछि त्यहाँ रहेका अरु तर्सिन्छन्। भ्रमण वर्षका नाममा सबैका लागि देश खुल्ला त गर्‍यो नेपालले तर आफै असुरक्षित बन्दै गरेको महसुस गरिरहेको छैन।

निर्वाधहरुमा चिनियाँहरु हिँड्दुल गर्दा ठमेलमा आउने अरु देशका पर्यटकहरुमा समेत त्रास उत्पन्न भएको ठमेलका व्यवसायीहरु बताउँछन्।

चिनियाँहरु आफ्नै देशमा भाइरसविरुद्ध युद्ध लडिरहेका छन्। यता योगेश भट्टराई भने चिनियाँ पर्यटकलाई नेपाल ल्याउन सक्ने कल्पनामा छन्। कोरोना मुक्त देश घोषणा गरे धेरै संख्यामा चिनायाँ पर्यटक नेपाल भित्रिने उनको मत छ। उनको यो महत्वकांक्षी गल्तीप्रति धेरैले प्रश्न उठाइरहेका छन्।

यो त चीनको कुरा। चीनबाट अन्य राष्ट्रहरुमा समेत यस भाइरसले ठूलै महामारीको सिर्जना गरेको छ। जापान, दक्षिण कोरिया, इटाली र इरान अहिले यस भाइरसविरुद्ध लडिरहेका छन्। यी देशहरुमा पनि धेरै संख्यामा नेपालीहरु रहेका छन्। यी देशहरुबाट निर्वाध रुपमा मानिस नेपाल भित्रिरहेका छन्। विमानस्थलमा सावधानी नअपनाएको आरोप सरकारमाथि लाग्दै आएको हो।

विश्वभर कोरोनाको संक्रमण फैलिँदै जाँदा र नेपालले यस भाइरस विरुद्ध लड्न ठोस तयारी नगर्दा विश्वमा पक्कै पनि सकरात्मक सन्देश गएको छैन।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले दिएको चेतावनी (नेपाल) जस्तै राष्ट्रलाई नै हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनालाई हल्का रुपमा लिएको आरोप लाग्दै आएको छ। पछिल्लोसमय अमेरिकामा पनि कोरोना संक्रमित पहिचान भइसकेका छन्।

भाइरसका विकराल अवस्था सिर्जना हुनसक्ने डब्लुएचओले चेतावनी दिइसक्दा पनि नेपालले पर्यटन वर्षलाई कायम राख्न नहुने मत बढ्दै गएको छ। यद्यपि, भ्रमण वर्ष रद्द गरेर मात्रै कोरोना भाइरसको संक्रमण रोकिने भने होइन। भ्रमण वर्ष सफल बनाउन लगाएको आँट कोरोना विरुद्ध लड्न प्रयोग गर्नुपर्ने माग राख्ने जमात देखिएको छ।

चीन बाहिर अन्य देशमा रहेका नेपालीहरुको अवस्थाका साथै त्यहाँबाट नेपाल घुम्न आएका र फर्किएका नेपालीहरुको बारेमा सरकार सचेत हुनुपर्छ। भ्रमण वर्षको लागि भनेर धेरै संख्यामा पर्यटकहरु नेपाल भित्रिरहेको अवस्थामा विमानस्थलमा अपनाइएको असावधानीले ठूलै संकट निम्तिन सक्छ।

तर, कोरोना विरुद्ध लडिरहेका राष्ट्रहरु कै नागरिकलाई लक्षित गर्दै नेपालको ढोका निर्वाध रुपमा खुल्ला नै गरिरहेन मुडमा देखिन्छ सरकार। यदि, मन्त्री भट्टराईले भने झै कोरोना मुक्त राष्ट्र भनेर विश्वभर प्रचार गरेर पर्यटन वर्षमात्रै सफल बनाउन लागे गेहब्रेयससले भने झै त्यो नेपालको सबैभन्दा ठूलो गल्ती हुनसक्छ।

कोरोना भाइरस चीनका लागि मात्रै होइन, यसको उचित व्यवस्थापन गर्नु हरेक राष्ट्रको कर्तव्य हो । नेपालमा यो भाइरसले मानिसको स्वास्थ्यमा मात्र नभएर देशकै अर्थतन्त्रमा समेत असर गर्ने भएकोले बेलैमा मुलुकले आन्तरिक उत्पादन बढाई सबै युवाहरूलाई स्वदेशमै रोजगारी दिने नीति लिई मुलुकको अर्थतन्त्र धरायसी हुनबाट बचाउनु पर्छ । हाम्रा शासकहरूले यो कुरामा ध्यान दिन जरुरी छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर