Aamsanchar

बिर्तामोडका सबै अस्पतालमा कोरोना हेल्थ डेक्स स्थापना गरिने

Author Image
शनिवार, फागुन २४, २०७६

बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिकाका सबै अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गरिने भएको छ ।

नगरपालिकाले शुक्रबार यहाँका सबै अस्पतालहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । ‘नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउन लागेका हौँ’, उनले भने, ‘यसका लागि सरोकारवाला सबै संघसंस्था एकजुट हुन आवश्यक छ ।’

बिर्तामोड पूर्वको मुख्य व्यापारिक केन्द्र भएकाले उच्च आवागमन हुने हुँदा सतर्कता अपनाउन यस्तो नीति लिइएको नगरप्रमुख शिवकोटीले बताए । छलफलपछि केही अस्पतालले शुक्रबारदेखि  र केहीले शनिबारदेखि हेल्थ डेक्स सञ्चालन गर्ने भएका छन् ।

त्यस्तै, आँखाको उपचारका लागि बिर्तामोडमा आउने भारतीय बिरामीको स्वास्थ्य परीक्षण गरेर मात्र उपचार अघि बढाइने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखिएकाले त्यस्तो गर्न लागिएको हो ।

बिर्तामोडका तीन मुख्य बस बिसौनी पूर्व बस स्टेण्ड, पश्चिम बस स्टेण्ड र इलाम स्टेण्डमा पनि हेल्थ डेक्स राखिने भएको छ । बिर्तामोडमा आइसोलेसन सेन्टर स्थापना गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरिने भएको छ ।

बिर्तामोड नगरपालिकाले साना–ठूला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतना अपनाउन नगरबासीलाई आग्रह समेत गरेको छ । बिर्तामोडमा १० वटा निजी अस्पताल, ४ वटा आँखा अस्पताल र ३ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)