Aamsanchar

झापामा मल, वीऊ र इन्धनको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता

Author Image
मङ्गलवार, वैशाख ९, २०७७


बिर्तामोड।  झापामा कृषकका लागि अतिआवश्यक रासायनिक मल, वीऊ तथा इन्धनको समस्या तत्काल समाधान गर्ने सम्बन्धित क्षेत्रका अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।

उक्त समस्या समाधानमा सहजीकरणका लागि उनीहरुले सबै सरोकारवालालाई आग्रह पनि गरेका छन् । प्रदेश नं. १का प्रदेश सभा सदस्य बसन्त बानियाँले कृषकका सबै समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताए । कृषि क्षेत्रलाई अत्यावश्यक क्षेत्रको रुपमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले प्रदेशका कृषि सम्बन्धी समस्या समाधानका लागि कृषिमन्त्रीसँग पहल गर्ने बताए । मल, वीऊ र इन्धनका नाममा हुने कालोबजारी नियन्त्रण र अनुगमनमा समेत उनले जोड दिए ।

संवाद समूह झापाले गरेको ‘भिडियो कन्फ्रेन्स’मा कृषकका अगुवाहरुले अहिलेको समस्या बारे अवगत गराएपछि सांसद बानियाँसहित जिम्मेवार अधिकारीहरुले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापामा मलको अभाव हुन नदिन विराटनगर र विरगञ्जबाट मल ल्याउने प्रक्रिया शुरु भएको बताए । उनले तत्कालै उपलब्ध गराउनुपर्ने अवस्थामा सहकारीहरुलाई प्रशासनसँग समन्वय गरेर समस्या समाधान गर्न सक्ने र त्यसका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । त्यस्तै वीऊ विजनको समस्या समेत सहज आपूर्ति गरी समाधान गर्न तत्काल काम थाल्ने पोर्तेलले बताए । इन्धनको समस्या समाधानका लागि पालिकाहरुलाई प्रशासनसँग समन्वय गरी परिपत्र गर्ने बताउँदै पोर्तेलले भने– ‘हामी झापामा अब मल, वीऊ र इन्धनको अभाव हुन दिँदैनौं ।’

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नवीन कोइरालाले झापासहित साविक मेची अञ्चलका चार जिल्लामा इन्धनको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले समन्वयको अभाव रहेको गुनासो गर्दै आफूहरु तेलको सहज वितरणको पक्षमा रहेको बताए । इन्धनको सहज वितरणका लागि जिल्ला समन्वय, प्रशासन, पालिकाहरु र वडाबीच समन्वय हुन जरुरी रहेको र कृषकलाई वडाबाट कुपन दिई त्यसको आधारमा पम्पहरुले इन्धन दिन सक्ने कोइरालाको सुझाव थियो । अहिले व्यवसायीले विराटनगर डिपोबाट प्रतिलिटर एक रुपैयाँ घाटा खाएर भए पनि इन्धन ढुवानी गरिरहेको कोइरालाले बताए । यसअघि झापाकै चारआली डिपोबाट उनीहरुले इन्धन ढुवानी गर्दै आएका थिए । कोइरालाको सुझाव लगत्तै जिसस प्रमुख पोर्तेलले त्यसको सहजीकरणमा आफू अग्रसर हुने प्रतिबद्धता जनाए ।

नेपाल कृषक समूह महासंघका राजेन्द्र कडरिया, वीऊ व्यवसायी समिति झापाका सचिव बसन्त न्यौपानेले आम कृषकको प्रतिनिधिको रुपमा कृषकलाई मल, वीऊ र इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका थिए । अहिले सहकारीमार्फत मल वितरण हुँदै आए पनि सहकारीको पहुँच नभएका क्षेत्रमा स्थानीय आधिकारिक व्यवसायीमार्फत समेत विक्री वितरण गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर