Aamsanchar

मेचीनगरमा नयाँ नियम लागु, अघोसित नाकाबन्दी

Author Image
बुधवार, वैशाख १७, २०७७

मेचीनगरको चारआली स्थित मुख्य सडकमा राखिएको वेरियर । फोटो: विनादे पाण्डे/आमसंचार

मेचीनगर : मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ ।  कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउन बन्दाबन्दीका कारण अत्यवश्यक सवारी साधन सञ्चालनका नगरपालिकाले दिएको अनुमती खारेज गरी अब उप्रान्त लकडाउन अवधिभर आवश्यकता अनुसार नगर कार्यपालिकाको कार्यालयबाट नगरभित्रमात्र लागू हुने गरी सवारी अनुमती पत्र लिएर सवारी साधन सञ्चालन गर्न नगरपालिकाले भनेको छ । नगरपालिकाले नगरक्षेत्रलाई अघोषित रुपमा ‘सिल’ गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणकालागि अहिले सम्म नगरपालिकाले भए गरेका काम र त्यसबाट प्राप्त उपलब्धिका बारेमा जानकारी दिने उद्घेश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख विमल आचार्यले उक्त जानकारी गराएका हुन ।

आयोजित पत्रकार सम्मेलनमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई मेचीनगर नगरपालिकाक्षेत्रभित्र व्यवस्थित र प्रभावकारी बनाउनका लागि यो सहित अन्य व्यवस्था लागू गरिएको पत्रकार सम्मेलनमा  प्रेस विज्ञप्तीमा उल्लेख छ ।

लकडाउन अवधिभर अनूमति प्राप्त गरेका बाहेक मोटरसाइकलसहित अन्य कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाईने, लकडाउन अवधिभर नगर बाहिरबाट नगरमा बसोवास गर्ने गरी प्रवेश गर्न नपाईने, यदि लकडाउन उल्लंघन गरी नगरपालिका क्षेत्रभित्र प्रवेश गरेमा सम्बन्धित वडा कार्यालयले तोकेको क्वारेन्टाइनमा १५ दिन बस्नुपर्ने र सो अवधिभर खाने र सुत्ने व्यवस्था आफै गर्नुपर्ने, अत्यवश्यक दैनिक खाद्य सामाग्री तथा सागसब्जी खरिद विक्रीका लागि प्रत्येकदिन विहान ६ देखि ११ बजेसम्म पसल खुला गर्न पाईने, विरामी स्वयम् आफै स्वास्थ्य परीक्षणमा गएर उपचार गर्नुपर्ने अवस्था वाहेक नियमित औषधि सेवनकर्ताले समेत औषधि खरिदको समय विहान ६ देखि ११ बजेसम्म मात्र हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी, तरकारी फलफूल, दुग्ध, खाद्यन्न सामाग्री होम डेलीभरी गरी विक्री खुला गरिएको छ भने यसका लागि नगरभित्र सञ्चालन हुने गरी मेची उद्योग बाणिज्य संघले ढुवानी साधनको अनुमती दिएर त्यसको जानकारी नगर कार्यपालिकाको कार्यालयमा उपलब्ध गराउनु पर्ने छ । यसका लागि ढुवानी साधनको सञ्चालनका लागि विहान ६ देखि ११ बजेसम्म तोकिएको छ ।

नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुले निक्षेपकर्ताको फिर्ता निक्षेप संकलक मार्फत घर घरमै फिर्ता गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने पत्रकार सममेलनमा नगरप्रमुख आचार्यले बताए ।

सोहि क्रममा अहिलेसमम लकडाउनका कारण समस्यामा परेका अति विपन्न ७ हजार ७ सय १९ परिवारलाई नगरपालिका र वडा कार्यालयसमेत गरी करीव ७५ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको सामाजिक विकास प्रमुख अनन्तप्रकाश वस्तीले जानकारी दिए ।  उनका अनुसार १५ वटा वडाले ३ लाख रुपैयाँका दरले ४५ लाख र नगरपालिकाले ३० लाख रुपैयाँ बराबरको राहत सामग्री पहिलो चरणमा वितरण गरेको हो ।

नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दैं नेपाल सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेपछि लकडाउन कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई लागूऔषध प्रयोगकर्ता मुख्यः चुनौती बनेको भन्दैं झापाको मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालय आयावारीलाई विशेष कवारेन्टाइनको रुपमा खडा गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । हाल सम्म क्वारेन्टाइनमा झापासहित मोरङ, इलाम र सुनसरीका ५२ जना रहेको र कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको उहाँको भनाई छ । पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने छ पत्रकार सम्मेलनमा बताइएको छ ।

देशका विभिन्न भागसहित झापामासहित  कोरोना भाइरस कोभिड १९ को संक्रमित व्यक्ति फेलापरे लगत्तै मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सवारी साधन र मानिसहरुमा कडाइ गर्न थालेको पनि पत्रकार सम्मेलनमा बताईएको छ । मेचीनगरले अहिले आफ्नो पश्चिम नाकामा चेकजाँचमा कडाई र आवत जावत गर्ने व्यक्तिहरुमाथि कडा निगरानी बढाएको  छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर