Aamsanchar

अझै पाँचदिन भारीवर्षा हुने

Author Image
सोमवार, साउन ५, २०७७

काठमाडौं :  नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले त्यो नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका थिए।  त्यस क्रममा वैद्यले ९ साउनपछि मात्रै क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे। उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए। यो मात्र अझै बढेर २ सय मिलि लिटर पानी पर्ने सम्भावना छ।

न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्व पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए। २४ घण्टामा कहाँ पर्यो धेरै पानी ? विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलीमिटर पानी परेको छ। यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलीमिटर पानी परेको छ। यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए। ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ।’

मौसम सक्रिय भएदेखि नै वर्षाको दर उच्च छ। ‘चार महिनामध्ये असारको आधा आधीदेखि भदौ आधा आधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ। एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए। हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि-मनसुनमा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर