हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले वडाभित्रका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ। सार्वजनिक बिदाको दिन पनि जनप्रतिनिधिहरूले जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर न्यानो कपडा वितरण गरेका हुन्।
वडाले आर्थिक वर्ष २०८१/८२ को गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत “जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण” शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो। वडा अध्यक्ष बिष्णु प्रसाद ओलीका अनुसार यस कार्यक्रममार्फत ८० वर्षभन्दा माथिको उमेर समूहका ९० जना जेष्ठ नागरिकलाई बर्को र थर्मल कोट वितरण गरिएको छ।

वडा अध्यक्ष ओलीले जेष्ठ नागरिकहरूको सम्मान र सहयोगका लागि यस कार्यक्रम सञ्चालन गरिएको बताए। न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरूले खुशी व्यक्त गरेका छन्।

जनप्रतिनिधिहरू सार्वजनिक बिदा पनि वडाका जेष्ठ नागरिकहरूको सेवा र हितमा सक्रिय रूपमा लागिपरेको स्थानीयले सराहना गरेका छन्।

