

स्याङ्जा – मोटर चालक लोकबहादुर थापाको इमान्दारिताको स्याङ्जामा चर्चा चलेको छ । सिद्धार्थ राजमार्गमा भेटिएको छ तोला सुनसहितका झोला उनले सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् ।
शनिबार दिउँसो पुतलीबजार नगरपालिका–१० राङखोला बस्ने ३२ वर्षीया अनिता अधिकारी स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै गर्दा सुनका गरगहनासहितको व्याग खसेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । छोरीसहित २÷३ वटा ब्याग पछाडि राखेर स्कुटर चलाउँदै गर्दा उनको सो झोला राजमार्गमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अधिकारीले सूचना दिएकी थिइन् ।
उता, चालक थापाले पनि पुतलीबजार नगरपालिका–३ स्थित मजुवामा गहनासहितको झोला भेटाएको भन्दै प्रहरीलाई खबर गरेका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । झोलामा रहेका सिक्री २ तोला, हार १ तोला, बेरूवा २ थान, पोतेसहितको सुनको माला १ थान, चन्द्रमा १ थानसहितको झोला प्रहरी कार्यालयमा प्रनाउ चौधरीको रोहवरमा आइतवार बिहान चालक थापाले अनितालाई बुझाएका छन् ।

चालक थापाको इमान्दारिताको प्रशंसा गर्दै निमित्त प्रहरी प्रमुख चौधरीले भने, ‘तपाईंको इमान्दारिताको मलगायत मेरो सिंगो प्रहरी कार्यालय नतमस्तक छ ।’ स्याङ्जा—पोखरा रुटमा ट्याक्सी चलाउने थापाले आजको मूल्य अनुसार झण्डै १८ लाख रुपैंया बराबरको धनमाल भेटाएपछि बुझाएर इमान्दारिता प्रर्दशन गरेका छन् ।



