बिर्तामोड । बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको दोस्रो पवित्र स्मृति सेवाको अवसरमा बिर्तामोडस्थित बिलिभर्स इस्टर्न चर्च क्याथिड्रलमा विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोड डायोसिसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धार्मिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता भिकार जनरल रेभ फादर डा। चित्रकुमार रुपाचाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा झापा क्षेत्र २ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर सहभागी थिइन्।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा पूर्व प्रादेशिक प्रहरी प्रमुख तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, कोशी प्रदेशका सदस्य धनप्रसाद सिवाकोटी र प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य तथा नेपाल–भारत मैत्री संघका उपाध्यक्ष शिवराज भण्डारीको उपस्थिति रहेको थियो।
त्यसैगरी अतिथिहरूमा पूर्व प्रहरी संगठन भद्रपुर नगर अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरीक्षक अम्बिका पोख्रेल, सिके बाघे, शिवराज लिम्बु, प्रेस शिव उप्रेती लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन रेभ फादर जगत बहादुर वाग्ले र पुजन लिम्बुले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा सहभागी अतिथिहरूले मन्तव्य व्यक्त गर्दै स्वर्गीय मेट्रोपोलिटनको आध्यात्मिक नेतृत्व, त्याग, सेवाभाव, विनम्रता तथा पवित्र चर्चप्रतिको समर्पणको उच्च प्रशंसा गरेका थिए।
उनीहरूले मेट्रोपोलिटनले विश्वासी समुदायमा स्थापित गरेको विश्वास, प्रेम, अनुशासन र सेवाको भावना आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा चर्चका फादरहरू, विश्वासीजन तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



