झापा । महिलालाई आफ्ना अधिकारप्रति सचेत र कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका वडा नम्बर १० मा एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।
नारी सञ्चार गृह झापा को आयोजना तथा वडा नं. १० को सहयोगमा आयोजित कार्यक्रममा वडाभित्र रहेका २७ वटा टोल विकास संस्थामा आबद्ध महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता कविता बास्तोला ले महिलाका संवैधानिक तथा कानुनी अधिकार, घरेलु हिंसा, लैंगिक समानता, सम्पत्ति अधिकार र कानुनी प्रक्रिया सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले कानुनबारे जानकारी अभावकै कारण धेरै महिला अन्याय सहन बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै सचेतना नै सशक्तीकरणको पहिलो आधार भएको बताउनुभयो ।

सहभागी महिलाहरूले तालिमबाट दैनिक जीवनमा उपयोगी कानुनी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले घरपरिवार र समाजमा आउने विभिन्न समस्या समाधानका लागि कानुनी ज्ञान आवश्यक रहेको अनुभव सुनाएका थिए ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष दुर्योधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य दीपिका शिवा र धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा निवर्तमान अध्यक्ष रेजिना गौतम लगायतले महिलालाई अधिकारबारे जानकारी गराउने यस्ता कार्यक्रम समाजका लागि आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
संस्थाकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो ।
आयोजकका अनुसार आगामी दिनमा पनि महिलाको नेतृत्व विकास, अधिकार सचेतना र सामाजिक सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनेछ ।


