

झापा । पाण्डे बन्धु सेवा समितिको आयोजनामा आज क्यालेन्डर विमोचन, अग्रज व्यक्तित्व सम्मान तथा झापा जिल्लाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम अग्रज व्यक्तित्वहरूको सम्मान र नयाँ नेतृत्व चयनसँगै उत्साहपूर्वक सम्पन्न भएको हो।
आज शनिबार सम्पन्न कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा अग्नि प्रसाद पाण्डे, डाक्टर दिपायन पाण्डे, सत्यनारायण पाण्डे, भूमिका पाण्डे र उमानाथ पाण्डे रहेका छन्। त्यस्तै, मरणोप्रान्त खड्गप्रसाद पाण्डे (छोरा–बुहारीमार्फत) तथा धनपति पाण्डे (श्रीमतीमार्फत) लाई पनि सम्मान अर्पण गरिएको थियो।
संस्थातर्फ पाण्डे बन्धु सेवा समिति कन्काई नगर समिति, झापालाई समेत विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सोही अवसरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट चिरञ्जीवी पाण्डे अध्यक्षमा पुनः चयन भएका छन्। उपाध्यक्षमा घनेन्द्र पाण्डे (जिपी), सचिवमा सुवास पाण्डे (खेमराज), सहसचिवमा उर्मिला ओली पाण्डे र कोषाध्यक्षमा इन्द्र कुमारी पाण्डे चयन भएका छन्।
यसैगरी सदस्यहरूमा खगेन्द्र पाण्डे (अर्जुनधारा), खगेन्द्र पाण्डे (बाह्रदशी), दुर्गा पाण्डे, पुष्प पाण्डे र केन्द्र पाण्डेलगायत चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा पाण्डे बन्धु सेवा समितिका केन्द्रीय अध्यक्ष युवराज पाण्डेले झापा जिल्ला समितिले आफ्नै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि सबै पाण्डे बन्धुहरूलाई योगदान गर्न आग्रह गरे।
त्यस्तै, कार्यक्रममा अग्निप्रसाद पाण्डे, जग्गा व्यवस्थापन समितिका संयोजक केशवराज पाण्डे, सुनसरी जिल्ला अध्यक्ष जनार्दन पाण्डे तथा धनकुटा अध्यक्ष हेमराज पाण्डेले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत जिपी पाण्डेले गरेका थिए भने सञ्चालन सचिव सुवास पाण्डेले गरेका थिए।
अधिवेशनको बन्दसत्रमा जग्गा व्यवस्थापन तथा खरिदलाई प्राथमिकतामा राखिएको थियो। कम्तीमा ५ कठ्ठा जग्गा व्यवस्थापन गर्ने लक्ष्यसहित अघि बढाइएको अभियानअन्तर्गत २ कठ्ठा जग्गा दान गर्ने दाताहरू अघि आइसकेका छन्। साथै प्रतिधुर ४० हजार रुपैयाँका दरले जग्गा खरिदका लागि अन्य बन्धुहरूलाई समेत आह्वान गरिएको सचिव सुवास पाण्डेले जानकारी दिए।
अधिवेशनले समुदायमा एकता, सम्मान र संस्थागत सुदृढीकरणमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।



