Aamsanchar

चार लाख १४ हजार मूल्य बराबरको अवैध सामान मोरङका विभिन्न स्थानबाट बरामद

Author Image
बुधवार, असोज २१, २०७७

विराटनगर – भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा चार लाख १४ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गरेको छ। नेपालबाट तस्करी गरेर भारततर्फ लगिँदै गरेको सूचनाका आधारमा एक लाख ८० हजार मूल्य बराबरको मटर बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

उनका अनुसार नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको श्याम मण्डलको घरको आँगनबाट मटर बरामद भएको हो। आधिकारिक बिल देखाउन नसकेपछि तस्करीको मटर नियन्त्रणमा लिइएको खड्काले बताए। उनले भारततर्फ कटाउन लागेको अवस्थामा प्रहरीले फेला पारेको बताए।

त्यस्तै विराटनगर महानगरपालिका–१५ बाट भारतदेखि नेपालतर्फ अवैध रुपमा आयात भइरहेको कपडा, जुत्ता र किराना मालसामान प्रहरीले मंगलबार राति बरामद गरेको छ। प्लाष्टिकको बोरामा प्याक गरेर आयात गर्दै गरेको अवस्थामा एक लाख २६ हजार मूल्य बढीको जुत्ता, कपडा र किराना सामान नियन्त्रणमा लिइएको एसपी खड्काले बताए।

विराटनगर–१४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ। एक लाख आठ हजार मूल्य बराबरको काजु र जिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

एसपी खड्काले बरामद भएका भन्साली छलीका अवैध सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। उनले नियन्त्रणमा लिइएका सबै सामान चार लाख १४ हजार मूल्य बराबरको रहेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 470

प्रतिक्रिया (०)

सम्बन्धित खबर