Aamsanchar

आईपीएलको सट्टेबाजी : लहरो तान्दा पहरो, विराटनगरमा सट्टेबाजी खेल्ने र खेलाउने अर्को समूहको खुलासा

Author Image
शनिवार, कार्तिक १, २०७७
विराटनगर — हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को सट्टेबाजीमा संलग्न अर्को गिरोहको खुलासा भएको छ । प्रहरीका अनुसार लहरो तान्दा पहरो गर्जे जस्तै भइरहेको छ । पटकपटक हारेको रकम बलजफ्ती असुल्न खोजिएपछि विराटनगरमा सट्टेबाजी खेल्नेरखेलाउने अर्को समूह पत्ता लागेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सुरुमा सामान्य लेनदेन विवाद लागे पनि अनुसन्धान अगाडि बढाउँदै जाँदा सट्टेबाजीको ठूलै समूहको पोल खुलेको उनले बताए ।
‘यसको धेरै ठूलो सञ्जाल छ, जसको बारेमा अहिले नै म पूरा विवरण दिन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘यसमा धेरै मान्छे तानिन्छन्, अनुसन्धान पूरा भएपछि यसमा को–को पक्राउ पर्छन्, हेर्दै जाऔं ।’ विराटनगरको पिचराबासी युवा नेता रोनाल कँडेलको समूहले आईपीएलको सट्टेबाजीमा हारेको झन्डै १५ लाखमध्ये ८ लाख रुपैयाँ असुल्नलाई पिन्टु भन्ने सञ्जय सिंघललाई धम्क्याएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार सिंघल स्वयंले घटनाको विवरण खुलाउँदै असोज २४ मा फेसबुकमा लेखे । धेरै रकम कमाउने भनेर कँडेल सट्टेबाजीमा लागेको र यसै क्रममा उनी क्रिकेटका जानकार व्यावसायिक घरानाका सिंघलसँग सम्पर्कमा आएर सट्टेबाजी खेल्न थालेको प्रहरीले जनाएको छ ।
‘सिंघलले कँडेललाई जित्ने तरिका यो हो भनेर सिकाउँदा पनि पुन; हार्यो, तैंले मलाई फसाउने रहेछस् त भन्दै हारेको रकम बराबरको तीन चेक हस्ताक्षर गराएर सिंघलसँग कँडेलले लिएको देखिन्छ,’एसपी खड्काले भने । सिंघलले उक्त पोस्टमा सट्टेबाजीमा रकम लगाउनेहरुले आफूलाई कुटपिट गरेको नामसहित उल्लेख गरेको हुनाले सबैलाई आलोपालो बोलाइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । एसपी खड्काका अनुसार सट्टेबाजीमा संलग्न यो समूहलाई एकै पटक पक्राउ गर्ने गरी प्रहरीले निगरानी गरिरहेकै बेला यो विवाद सार्वजनिक भएको हो । उनले भने, ‘सिंघलको फेसबुक पोस्टले प्रहरीको पूर्वनिर्धारित योजनासमेत परिवर्तन भएको छ ।’ सट्टेबाजीमा लागेका कँडेल र सिंघलको नेता एवं सुरक्षा निकायसम्म राम्रै पहुँच रहेको स्रोतले जनायो ।
यो घटनामा आपराधिक लाभ(असुली)को मुद्दा समेत आकर्षित हुने एसपी खड्काले बताए । धम्की दिएर रकम असुल्न खोज्ने कँडेल प्रहरीको कडा निगरानीमा रहेको उनले बताए । एसपी खड्काको अनुसार मुटुको समस्या देखाई अस्पतालमा भर्ना भएका कँडेललाई परिवारको जिम्मा लगाएर हाजिर जवानीमा अनुसन्धान गरिरहेको उनले बताए । यसमा संलग्न सिंघललगायत अन्यसँग पनि सोधपुछ भइरहेको उनले बताए । विराटनगरमा सट्टेबाजीको पुरानो र नयाँ दुवै समूह सक्रिय रहेको र संलग्नमध्ये अधिकांश व्यावसायिक घरानाकै व्यक्तिहरु भएको अनुसन्धान स्रोतले जनाएको छ । सट्टेबाजमध्ये एक नाइकेसहित चार नयाँ र ६ पुराना खेलाडी भएको प्रहरीले जनाएको छ ।
यसअघि असोज १३ मा श्रृंखलाबद्ध कारबाही गरेर सट्टेबाजीमा प्रयोग भएको तीन मोबाइल, एक ल्यापटप, ६० हजार रुपैयाँ नगद र एक मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानबाट यी सबै गिरोहको दिल्ली, मुम्बई, विरगञ्ज, काठमाडौं, दुबई र कराँचीसम्मका सट्टेबाजसँग सम्पर्क रहेको देखिएको प्रहरीले बताएको छ । काठमाडौं प्रहरीले पनि यही साता सट्टेबाजी गर्ने ६ जनालाई १ लाख ८५ हजार १ सय २० रुपैयाँसहित पक्राउ गरेको छ । देशभर सञ्चालित सट्टेबाज समूहको एक अर्कासँग सम्वद्ध रहेको प्रहरीले जनाएको छ ।
मोरङका केही चर्चित व्यवसायीहरुले समेत मध्यस्थकर्तामार्फत आईपीएलमा बाजी लगाउने गरेको अनुसन्धानमा खुलेको छ । व्यापारी र सट्टा खेलाउने बीचविभिन्न खाले एपहरु एसएमएस, म्यासेन्जर, ह्वाट्सएप र भाइबरलगायतबाट दैनिक बाजीको दर आदानप्रदान हुने गरेको प्रहरीले जनाएको छ । निकै लोकप्रिय खेल क्रिकेटको सट्टबाजीमा विराटनगरमा मात्र दैनिक एक करोड रुपैयाँभन्दा बढीको बाजी लगाइने गरिएको अनुसन्धान स्रोतले जनाएको छ । स्रोतको अनुसार आईपीएलको अवधिमा गत वर्षसम्म कराँची र दुबईबाट सञ्चालित दुई समूह विराटनगरलाई केन्द्र बनाएर सक्रिय थिए ।
उक्त समूहका सट्टेबाजहरु बंगलादेशी र पाकिस्तानी नागरिक रहेको स्रोतले जानकारी दिएको छ । यो समूहमार्फत आईपीएल एवं अन्य क्रिकेट प्रतिस्पर्धामा बाजी लगाउने व्यवसायीको निकटता नेता तथा प्रहरीहरुसँग हुने गरेकाले पक्राउ नपरेका हुन् । धेरै गाइँगुइँ भएपछि यो समूह यो वर्षदेखि काठमाडौं र झापामा बसेर सट्टेबाजीको धन्धा चलाइरहेको स्रोतको दाबी छ । अघिल्ला वर्षहरुमा पनि विश्व चर्चित खेल प्रतिस्पर्धाहरुमा भारत बिहारको फारबिसगञ्ज, पुर्णिया र पटनालाई केन्द्र बनाई विराटनगरमा सट्टेबाजी भइरहेको सूचना आए पनि संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । केही नेता र प्रहरीसँगको निकटताले सट्टेबाजहरु कारबाहीबाट बच्दै आएको अनुसन्धान स्रोतको दाबी छ ।
सीमावर्ती बिहार जोगवनी नगरका प्रहरी प्रमुख अफताब अहमदले वारिपारिका सानो बजारभन्दा पनि भाग्न सहज हुने ठूलो महानगरलाई सट्टेबाजहरुले छनौट गरेको देखिएको बताए । ‘भारतमा पनि ठूला महानगर र सहरमै बढी पक्राउ पर्दैछन्,’उनले भने,‘नेपालमा पनि सीमावर्ती औद्योगिक र व्यावसायिक थलोमा सक्रिय छन् ।’ खेल्ने र खेलाउनेलाई पक्राउ गर्ने प्रहरीको योजना गत वर्ष सफल नहुँदा वास्तविकता खुल्न नसकेको प्रहरीले स्रोतले भन्यो । यो वर्ष भने प्रहरीले सुरुवातमै सफलता पाइरहेको छ । आईपीएलको बेला गत वर्ष काठमाडौंमा समेत धेरै सट्टेबाजहरुलाई प्रहरीले पक्रेको थियो ।
दुबई, क्यानडा, अमेरिका, भारत र नेपालका मुख्य सहरसम्म सट्टेबाजको सञ्जाल रहेको अनुसन्धान स्रोतले जनायो । प्रहरीका अनुसार जुवाडेले मुख्य सट्टेबाजका एजेन्टसँग अनलाइनमार्फत लगानी गर्छन् । गिरोहले यसकै लागि वेबसाइट एकाउन्ट बनाउँछ र प्रयोजन सकिए पछि बन्द गर्छ । प्रहरीको नजरमा नआउन र विवादमा नपर्न सट्टेबाजले सांकेतिक शब्दको प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सट्टेबाजीमा बाजी लगाउने ९जुवाडे, फन्टर०, रकमको हिसाबकिताब राख्ने ९बुकी० र यी दुईबीच सम्पर्क जोड्ने बाक्स (बुकीसँग सोझै सम्पर्क हुने मोबाइल कनेक्सन ) बुझिन्छ । केही निश्चित रकम तिरेपछि पाएको बाक्स कनेक्सन नम्बरमा डायल गर्नेबित्तिकै सट्टा खेल्नेले सट्टेबाजीको दैनिक दर थाहा पाउँछन् ।
सट्टेबाजीको सांकेतिक भाषामा एक लाख रुपैयाँलाई एक रुपैयाँ, ५० हजार रुपैयाँलाई आठ आना र २५ हजार रुपैयाँलाई चार आना भनेर बुझिन्छ । कतिपय मुलुकमा सट्टेबाजीलाई वैध गरिएको छ । भारतमा पनि यसलाई कानुनी मान्यता दिन माग उठिरहेको छ । अवैध सट्टेबाजीमा भूमिगत मााफियाको संलग्नता हुने गर्छ । उनीहरुले विभिन्न सांकेतिक शब्दको चयन गरेर विश्वभरका जुवाप्रेमीबीच सट्टेबाजीको धन्धा चलाइरहेको अनुसन्धानमा देखिएको छ ।
अनुसन्धान स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सट्टेबाजी कुनै न कुनै रुपमा वर्षभर सदावहार चलिराख्छ । फुटबल एवं क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बाहेक मौसमको भविष्यवाणी, कुनै सामानको मूल्य बढ्ने वा घटने, चुनावमा हुने हारजित र कुन दलको सरकार बन्नेलगायतमा समेत सट्टेबाजी हुन्छ । जुवाडेले आफै र सट्टेबाजका एजेन्टहरुले सांकेतिक भाषामा सम्पर्क गरी रकम लगानी गर्छन् । अनुसन्धान अनुसार सट्टेबाजले कहिल्यै पनि आफ्नो नाउँमा दर्ता भएको सिम प्रयोग गर्दैनन् । जुवाडेहरुले अनलाइनलगायत विभिन्न माध्यमबाट खेलको भाउ थाहा पाएर लगानी गर्छन् । मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको महलअन्तर्गत जुवा खेल्नु वा सट्टाबाजी गर्नुलाई अपराध मानिएको छ ।
यो अपराधमा पहिलो पटक खेल्नेरखेल्न लगाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । दोस्रो पटकमा १ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना एवं त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुनसक्ने प्रावधान छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीकाे मुल्य
बुधवार, कार्तिक २८, २०८१
सुनको मूल्य घट्यो
मङ्गलवार, कार्तिक २७, २०८१