

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीको बैठक तुरुन्त बोलाउन माग गर्नुभएको छ । नेकपा फुटको सङ्घारमा रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले यस्तो प्रतिक्रिया दिनुभएको हो । आइतबार भएको भेटमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेको प्रचण्डले बताउनुभएको थियो ।

नेता रावलले ट्वीट गर्दै लेख्नुभएको छ, विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ। साथै उहाँले समझदारी,एकता र देशको हित मनमा राखी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

