Aamsanchar

प्रस्तावित तीन राजदूतमाथिको सुनुवाइ कात्तिक २७ गते

Author Image
सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ — अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उजुरीकर्तालाई पटक-पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताए ।

त्यस्तै समितिका सदस्यहरु देव गुरुङ र निरु पाल कोरोना संक्रमणका कारण बैठकमा उपस्थित नभएकाले केही सदस्यले सुनुवाइ सार्न आग्रह गरेका थिए । सदस्य गुरुङ आफैले पनि प्रस्तावित राजदूतहरुमाथिको सुनुवाइ केही दिनपछि सार्न आग्रह गरेका थिए । त्यस्तै समितिका सदस्यहरु पूर्णकुमारी सुवेदी र सुरेन्द्र पाण्डेले पनि केही गुरुङ र पाललाई कुर्न आग्रह गरेका थिए ।

संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए ।

मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध पनि विभिन्न समयमा गरेका कामलाई आधार बनाएर उजुरी परेको बताइएको छ । संसदीय समितिमा परेको उजुरीमा उनले नापीको कर्मचारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाएको, अर्थमन्त्रालय र गृहमन्त्रालयमा सचिव हुँदा अवैधानिक रूपबाट कर्मचारीबाट रकम असुल गरेको भन्ने आरोपसहितका उजुरी परेका छन् । एउटा उजुरी भने म्याद गुज्रिएपछि आएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी परेको छैन । असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)