Aamsanchar

यस्ता योजना बनाउँदैछन्, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

वासिङ्टन — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीसँग जुध्ने विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपति बनेका बाइडेनले आगामी जनवरी २० मा कार्यभार सम्हाल्नेछन् । उनको टोलीका अनुसार अमेरिकामा भाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणलाई मास्क लगाउन भनिनेछ । बाइडनले जातीय विभेद र जलवायु परिवर्तनजस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन् । अमेरिकी सञ्चारमाध्यमले बाइडेनको नेतृत्वमा अमेरिकाले पेरिस जलवायु सम्झौता पुनः स्वीकार गर्ने जनाएका छन् । त्यस्तै अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय पनि बाइडेनले बदर गर्ने जनाइएको छ । ट्रम्प प्रशासनले सातवटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि बाइडेनले अन्त्य गर्न सक्ने जनाइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् । राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणका क्रममा बाइडेनले यो ‘निको हुने समय’ भएको बताएका थिए ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका बाइडेनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले आफूमाथि विश्वास गर्दै स्पष्ट जनादेश दिएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । ‘अमेरिकी मतदाताले मप्रति देखाउनुभएको विश्वासबाट कृतज्ञ छु,’ उनले भनेका थिए । आफूले अमेरिकामा विभाजन नभई एकता चाहेको बाइडेनको भनाइ छ । अमेरिकी संविधानअनुसार नयाँ राष्ट्रपतिको कार्यकाल जनवरी २० को मध्याह्नदेखि सुरु हुन्छ । राजधानी वासिङ्टन डीसीमा आयोजना गरिने शपथ ग्रहण समारोहमार्फत यो कार्यकाल प्रारम्भ हुने गर्छ । नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ गर्ने प्रावधान छ । त्यसैले जो बाइडेन र कमला ह्यारिसले जनवरी २० मा शपथ लिनेछन् ।

संविधानमा उल्लेखित यो समयतालिका अपवादका समयमा भने फेरबदल हुन सक्छ । उदाहरणका लागि कार्यकालकै दौरान यदि कुनै राष्ट्रपतिको निधन भएमा वा राजीनामा गरेमा सकेसम्म छिटो उपराष्ट्रपतिलाई शपथ गराइन्छ । चुनावी परिणामा आइसकेको र नयाँ राष्ट्रपतिले शपथ नलिइसकेको अवस्था संक्रमणकालीन समय हो । नवनिर्वाचित राष्ट्रपतिले आफ्नो एक समूह गठन गर्छन्, जसलाई संक्रमण टोली भनिन्छ । यस्तो टोलीले आगामी प्रशासनका वरिष्ठ अधिकारीहरूको चयन गर्छ र कार्यकालमा गरिने कामहरूको प्राथमिकता तोक्ने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर