Aamsanchar

मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने

Author Image
शुक्रवार, मंसिर १२, २०७७

वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै घटनापछि फरार रहेका गुप्ता वीरगञ्ज फर्किएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा पार्टीकै दुई पक्षबीच कात्तिक ६ गते भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । एलएस न्युरो अस्पतालमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो ।

मुकेशको सुनियोजित हत्या भएको भन्दै उनका भाइ महेशले तत्कालीन संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनीहरुले सडकमा प्रदर्शन समेत गरे ।अर्को पक्षले पनि प्रदेश सह इन्चार्ज नागेन्द्र चौधरीसहित १५ जनाविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीले भने मुख्य अभियुक्त अखिलेश भनिने अशेसर प्रसाद चौरसिया, उत्तम भनिने निरञ्जन तिवारी, हनिफ मियाँ देवान र देवा सहनीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीकै राय प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले राजकुमार गुप्ता, धिरज चौरसिया, वकिल गद्दी र नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

‘चौरसिया मृत्यु प्रकरणमा प्रहरीबाट आएको राय प्रतिवेदन हामीले अध्ययन गर्‍यौं, त्यसपछि ७ जना विरुद्ध अभियोजन दर्ता गर्नुनपर्ने देखियो’ जिल्ला न्यायधिवक्ता पदमबहादुर कार्कीले भने, ‘बाँकी २० जना अभियुक्तविरुद्ध अभियोजन दर्ता गरेका छौं ।’ उक्त घटनामा सरकारी वकिल कार्यालयले मुख्य नेताहरू बाहेकका कार्यकर्तामाथि मात्रै मुद्धा चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले मुख्य अभियुक्त र मतियारहरु पहिचान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिइन् ।

‘राय प्रतिवदेनमा चौरसियाको टाउकोमा बाँसको भाटाले हान्नेलाई मुख्य अभियुक्त, कुटपीटमा संलग्न, भाटा झिक्ने, आरोपीलाई भगाउन सहयोग गर्नेलाई मतियारको रुपमा प्रस्तुत गरेका हौं’ उनले भनिन्, ‘अनुसन्धानका क्रममा घटनामा कुनैपनि हिसाबले संलग्नता देखिएका सबैको नाम समावेश छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर