Aamsanchar

यस्तो छ एसियाली मुलुकमा कोरोना खोप आइपुग्न सक्ने समयतालिका !

Author Image
शुक्रवार, मंसिर १२, २०७७

काठमाडौं । कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ । फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् ।

यद्यपि एसियाली मुलुकहरुले भने सुरुआतमा नै ठूलो मात्रामा कोरोना खोप नपाउने देखिएको छ । केही एसियाली मुलुकमा कोरोना खोप आइपुग्न सक्ने समयतालिका उल्लेख गरिएको छ । सम्वन्धित दशेले गरेको सम्झौताको आधारमा यो समय अनुमान गरिएको हो ।

अष्ट्रेलिया

अष्ट्रेलियाले अहिलेसम्म १३ करोड ५० लाख डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ । अष्ट्रेलियाले एक्स्ट्राजेनेकासँग तीन करोड ४० लाख, नोभाभ्याक्स कम्पनीबाट चार करोड, फाइजरबाट एक करोड र सीएसएल लिमिटेडसँग पाँच करोड १० लाख डोज कोरोना खोप खरिदको सम्झौता गरिसकेको छ ।

आगामी वर्ष जनवरी र फेब्रुअरी महिनाभित्र अष्ट्रेलियाले एक्स्ट्राजेनेकाले निर्माण गरेको ३८ लाख डोज कोरोना खोप पाउन सक्ने अनुमान गरिएको छ ।

चीन

चीनले अहिलेसम्म पश्चिमा खोप निर्माताहरुसँग कुनै पनि खरिद सम्झौता गरेको छैन । त्यसो सट्टामा उसले आफ्ना निजी कम्पनीहरुसँग सहकार्य गरेर खोप विकासमा काम गरिरहेको छ ।

एक्स्ट्राजेनेकाको खोपले चीनमा अनुमति पाउन सन् २०२१ को मध्यसम्म कुर्नुपर्नेछ र यसको चिनियाँ पार्टनर सेन्जेन काङटाइ बायोलोजिकल प्रोडक्टले सन् २०२० को अन्तिमसम्ममा आफ्नो उत्पादन क्षमता १० करोड डोज पुग्ने बताएको छ । फाइजरको खोपका लागि चीनको साङ्घाई फोसन फर्मासयुटिकल ग्रुपले दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

त्यस्तै तिब्बत रोडिओला फर्मास्युटिकल होल्डिङ्सले रुसी खोप स्पुतनिक खोप ल्याउने तयारी गरिरहेको छ । उसले यो खोपको सुरुआती र दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

चीनले आफ्नो आपतकालीन प्रयोगको कार्यक्रमका लागि सिनोभ्याक र सिनोफार्म विकास गरिरहेका खोपलाई प्रयोगको अनुमति दिइसकेको छ । सिनोफार्मले विकास गरिरहेको दुई खोपले यस वर्षको अन्तिमसम्ममा आम नागरिकको प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरेको छ ।

जापान

जापानले सन् २०२१ को सुरुआती ६ महिनामा १२ करोड डोज खोप ल्याउने गरी एक्स्ट्राजेनेकासँग सम्झौता गरेको छ, जसमध्ये मार्च ३१ सम्ममा तीन करोड डोज खोप जापानले पाउनेछ ।

उसले २५ करोड डोजका लागि नोभाभ्याक्ससँग सम्झौता गरेको छ । जापानले जोन्सन एण्ड जोन्सनसँग पनि कोरोना खोपको लागि वार्ता गरिरहेको छ भने शिनोगी एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ । विशेषज्ञहरुका अनुसार जापानमा अनुमति पाउनुभन्दा पहिला खोपको पहिलो र दोस्रो चरणको मानव परीक्षण गरिनु जरुरी हुनसक्छ ।

दक्षिण कोरिया

दक्षिण कोरियाले कोभ्याक्स कार्यक्रमबाट एक करोड मानिसका लागि खोप पाउने अपेक्षा गरेको छ । साथै थप दुई करोड मानिसका लागि अन्य छुट्टै सम्झौताबाट खोप ल्याउने दक्षिण कोरियाको लक्ष्य छ । दक्षिण कोरियाले कोभ्याक्ससँग ुवैकल्पिक खरिदु सम्झौता गरेको छ, जसको सहयोगमा उसले विशेष खोप छान्ने मौका पाउनेछ ।

दक्षिण कोरियामा सन् २०२१ को दोस्रो त्रैमासबाट खोप उपलब्ध हुन सक्ने अपेक्षा छ । खोपबारे अध्ययन तथा साइड इफेक्टबारेको अध्ययनका लागि समय लाग्न सक्ने भएकाले दक्षिण कोरियामा यो खोप प्रयोगमा आउन केही समय लाग्न सक्ने पाइएको हो ।

भारत

भारतमा एक्स्ट्राजेनेकाको खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युटले अन्तिम चरणको मानव परीक्षणको नतिजाका आधारमा यस वर्षको अन्तिमसम्म आपतकालीन प्रयोगको लागि अनुमति लिने र फेब्रुअरी वा मार्चसम्ममा यो खोप सार्वजनिक प्रयोगका लागि ल्याइने बताएको छ । भारतले फेब्रुअरीसम्ममा आम मानिसलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै भारतमा स्पुतनिक भी खोपको पनि अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

ताइवान

ताइवानले सुरुआतमा कोभ्याक्सको योजना र प्रत्यक्ष खोप खरिदबाट एक करो८ ५० लाख डोज खोप पाउने लक्ष्य राखेको छ ।

साथै थप एक करोड ५० लाख डोज खोप किन्न सकिने ताइवानले बताएको छ । ताइवानले सन् २०२१ को पहिलो त्रैमासभित्र कोरोनाको खोप कार्यक्रम सुरु हुने बताएको छ ।

फिलिपिन्स

फिलिपिन्सले एक्स्ट्राजेनेकासँग कम्तीमा दुई करोड डोज खोपको लागि सम्झौता गरेको छ । यो खोप अर्को वर्षको दोस्रो त्रैमासमा आउने अनुमान छ । फिलिपिन्सले ६ करोड डोज उपलब्ध हुन सक्ने आशा व्यक्त गरेको छ ।

साथै फिलिपिन्सले फाइजर र सिनोभ्याकसँग पनि खोप खरिद गर्नेबारे वार्ता गरिरहेको छ । फिलपिन्समा खोपको अनुमतिको लागि मानव परीक्षण जरुरी नपर्ने बताइएको छ ।

इन्डोनेसिया

कोभ्याक्स कार्यक्रमबाट यो मुलुकले १० करोड ७० लाख डोजसम्म खोप पाउने अनुमान छ । साथै चिनियाँ खोप सिनोभ्याकको मानव परीक्षण पनि गरिरहेको छ र जनवरीको अन्तिमबाट ठूलो समूहमा मेडिकल कर्मचारी र अन्य फ्रन्टलाइन कर्मचारीमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।

बंगलादेश

बंगलादेशले भारतको सेरम इन्स्टिच्युटसँग ३ करोड डोज एक्स्ट्राजेनेकाको खोप किन्ने सम्झौता गरिसकेको छ । साथै उसले ६ करोड ८० लाख डोज खोप जाभीबाट सहुलियत दरमा पाउने अपेक्षा रहेको वरिष्ठ स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर