Aamsanchar

विश्वका विभिन्न २० देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय नाघ्याे

Author Image
आइतवार, मंसिर २१, २०७७

काठमाण्डाै – विश्वका विभिन्न २० देशमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय नाघेकाे छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै  विदेशमा ज्यान गुमाउने नेपालीकाे सङ्ख्या तीन सय एक पुगेकाे छ । यो हप्ता  जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण  ज्यान गएको हो ।

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म  विदेशका ४९ देशमा ४८ हजार ६ सय ३९ गैरआवासीय सङ्क्रमित भएका छन् । त्यही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।

अहिलेसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५ सय २९ जनाको ज्यान गएको छ ।  

छिट्टै खोप आउने विश्वास

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने सङ्केत देखापरेको भन्दै खुशी व्यक्त गर्नुभएको छ । रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण शुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर