Aamsanchar

सम्पति हडप्न बाग्लुङका एक युवकले पाल्पाबाट नागरिकता लिएको खुलासा

Author Image
शुक्रवार, पौष १७, २०७७

पाल्पा – सम्पति हडप्नका लागि बाग्लुङका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको खुलेको छ । रामपुर नगरपालिका वडा नंं १४ का ४८ वर्षका पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङ गलकोट नगरपालिकाका २२ वर्षीय धनबहादुर कँडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएको खुलेको हो ।

बाग्लुङको गलकोट नगरपालिका ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कँडेलले धनबहादुर आफ्नै वडावासी भएको जानकारी दिनुभयो । नयाँ नाम नवराज अधिकारी कायम गरी धनबहादुरले नागरिकता बनाएका हुन् । नागरिकता बनाउन सफल भएपछि उनले पिताम्बर अधिकारीलाई अंश मुद्दा पनि हालेका छन् ।

नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेद्वारा जारी गरिएको छ । पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसँग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाइ कृष्णप्रसादले नागरिकता बनाइदिएर आफ्नो सम्पति हडप्ने प्रयास गरेको दाबी गर्नुभयो ।

आफू बिरामी भएको बेला २०७२ सालमा आफ्नै भाइ कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिकता बनाइदिएको उहाँको दाबी छ । पिताम्बरका भाइ कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले मानबहादुरलाई छोरो बनाएर लिएको दाबी गर्नुभयो । पछि पिताम्बर र मानबहादुरबीच विवाद भएपछि पिताम्बरले बेवास्ता गरेको र आफूले नागरिकता बनाउन भने सहयोग गरेको कृष्णप्रसादको भनाइ छ ।

मानबहादुरका साइला बुवा इन्द्रबहादुर कँडेलकी बुहारी तिला कँडेलले मानबहादुरले पाल्पाबाट नागरिकता बनाएको आफूले जानकारी पाएको बताउनुभयो । यसअघि गाउँमा आउँदा आफूले नागरिकता बनाइसकेकाले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने प्रतिक्रिया मानबहादुरले दिएको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेस गरेर नागरिकता बनाएको पाइए छानबिन गरेर कारबाही गरिने बताउनुभयो । नागरिकता बनाउने र बनाइदिने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ । नागरिकता बनाउने र बनाइदिनेलाई कारबाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर