
दैलेख – दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । उनले धारिलो हतियार हँसिया प्रहार गरी छोराको हत्या गरेका हुन् । मंगलबार राति दैलेखको नारायण नगरपालिका–९ सालखर्क बस्ने ७० वर्षीय कबिराज थापाले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार मादक पदार्थ सेवन गरी सामान्य वाद–बिवादमा कविराजले आफ्नै छोरा ४५ वर्षीय यादब थापालाई हँसियाले शरीरको विभिन्न भागमा प्रहार गरेका थिए । धारिलो हतियारबाट घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको थियो ।
अस्पतालमा चेकजाँचका क्रममा डाक्टरले यादवको बाटोमा नै मृत्यु भएको घोषणा गरेका थिए । आफ्नै छोरालाई धारिलो हतियार प्रहार गर्ने कबिराज थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाटै हँसियासहित नियन्त्रणमा लिइएको छ । ती व्यक्तिलाई प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिएका छन् ।



