मुम्बई । बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् । कोरोना महामारीको युगमा विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए ।
समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो भने फोटो लिक नहोस् भनेर स्टाफहरुको मोबाइलको क्यामरामा स्टिकर टासिएको थियो । करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा मात्रै विवाह समारोह गरिएको थियो । उनीहरुको विवाह समारोह अलिबागको मेन्सन हाउस नामक रेर्सोटमा गरिएको हो ।
भारतीय मिडियाका अनुसार साथीभाई र बलिउड इन्डष्ट्रिका व्यक्तित्वहरुका लागि २ फेबु्रअरीमा मुम्बईमा रिसेप्सन पार्टी राखिने छ । वरुण र नताशा बाल्यकालदेखिका साथी थिए । नताशा फेसन डिजाइनर हुन् ।