Aamsanchar

मौसमविद्को विद्धता कम्जोर हो की, उपकरणको प्रभावकारिता कम

Author Image
बिहिवार, फागुन ६, २०७७

काठमाण्डौ । बुधवार दिउँसोपख काठमाण्डौको पश्चिमी र दक्षिणी भेगमा पानी पर्यो ।

बिहानैदेखि सामान्य बद्ली भए पनि पानी नै पर्ला भन्ने धेरैलाई लागेको थिएन । मौसमविद्ले समेत पानी नै पर्छ भनेका थिएनन् । कतैकतै छिटपुट वर्षा हुनसक्ने मौसमविद्को अनुमान थियो । तर काठमाण्डौको पश्चिमी र दक्षिणी भेगमा मौसमविद्को अनुमानलाई समेत फेल गराउने गरी भल नै बग्ने गरी पानी पर्यो ।

पानी पर्दैन भनेर छाता र रेनकोट नबोकी बाहिर निस्केकाहरु बेलुकी भिज्दै घर फर्किए । धेरै समयपछि राम्रो हिउँदे वर्षा भयो भनेर किसान खुसी भए । तर जल तथा मौसम पूर्वानुमान महाशाखाको रेकर्डमा भने बुधवार ‘छिटपुट वर्षा’ मात्रै भएको भन्ने उल्लेख छ ।

‘वर्षा मापन गर्ने ठाउँमा छिटपुट वर्षा मात्रै भयो, त्यसैले काठमाण्डौको दक्षिणी र पश्चिमी भेगमा पानी परे पनि हाम्रो रेकर्डमा परेन’ महाशाखाका मौसमविद् मिनकुमार अर्यालले  भन्नुभयो, ‘काठमाण्डौका अरु ठाउँमा पानी पर्यो भन्ने हामीलाई थाहा छ, तर मापन गर्ने ठाउँमा नपरेपछि यति मिलीमिटर पानी पर्यो भनेर रेकर्ड राख्न सकेनौँ ।’

महाशाखाले अहिले काठमाण्डौको एअरपोर्टमा राखेको वर्षा मापन यन्त्रबाट रेकर्ड राख्ने गरेको छ । अहिले खण्डवृष्टि हुने सिजन भएकाले एउटै ठाउँमा पनि कतै पानी पर्ने र कतै पानी नपर्ने हुने गरेको मौसमविद् अर्यालको भनाइ छ । प्रि-मनसुन सुरु हुने बेला खण्डवृष्टि हुने मौसमविद् अर्यालले बताउनुभयो ।

आज पनि काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् अर्यालकाअनुसार काठमाण्डौ उपत्यकासहित पूर्वी तराई र पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि बद्ली भएर हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने र केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 602

प्रतिक्रिया (०)

सम्बन्धित खबर