
पाँचथर – पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने प्रमुख सडकअन्तर्गत निर्माण गरिएका पुल र डाइभर्सन नटिक्दा यात्रु र चालकले सास्ती सहनु परेको छ । यी जिल्ला जोड्ने मार्गमा निर्माण गरिएका पुल अधुरा छन् । त्यस्ता ठाउँमा सहजताका लागि निर्माण गरिएका डाइभर्सन पनि नटिक्ने समस्या छ ।
मेची र मध्यपहाडी राजमार्ग साथै तमोर करिडोरमा रहेका खोला तथा पहिरोग्रस्त खण्डमा यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ । झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली खण्ड अहिले जोखिमपूर्ण बनेको छ । माईखोलाको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध हुने गरेको छ । राजदुवालीमा हिलो र लेदोले घण्टौं गाडी जाममा पर्ने गरेका छन् ।
गत वर्ष पहिरो गएको स्थानमै निर्माण गरिएको अस्थायी ट्रयाकको भरमा अहिले यातायात र ढुवानीका साधन सञ्चालन भइरहेका छन् ।

यसको विकल्पमा केचना–कञ्चनजंघा सडकमाअन्तर्गत पुवा र जोगमाई खोलामा बेलीब्रिज निर्माणको काम सुरू गरिएको थियो । तर, अहिलेसम्म निर्माण पूरा भएको छैन । फिदिमदेखि विर्तामोडसम्म दैनिक जीप चलाउँदै आएका लक्ष्मी तामाङले अस्थायी डाइभर्सन र संरचना बाढीले पटक–पटक बगाउँदा यात्रु र ढुवानी व्यवसायीले पीडा सहनु परेको बताए । ‘सामान्य अवस्थामा ६ घण्टामा पूरा हुने इलाम–बिर्तामोडको यात्रामा अहिले १० घण्टासम्म लाग्न थालेको छ,’उनले भने, ‘छिनमै पानी पर्ने र छिनमै बाढी आउने भएकाले यात्रु लिएर घण्टौं सडकमै रोकिनुपर्ने अवस्था छ ।’
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पुवा खोलाको सुरुङ मार्गबाट पानी चुहावट भइरहेकाले राजदुवाली क्षेत्रमा निरन्तर पहिरो जाने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । वर्षौंदेखि भासिने समस्या रहेको सडक खण्डमा दुईवर्षदेखि पहिरो जान थालेपछि जोखिमयुक्त बनेको उनले बताए । निरन्तर पहिरो जाँदा सडक डिभिजनको जनशक्ति र उपकरण त्यही क्षेत्रमा केन्द्रित गर्नु परिरहेको उनले बताए ।
राजदुवालीको विकल्पमा दुईवटा सडक भए पनि पक्की पुल नहुँदा समस्या भइरहने उनले बताए । उनका अनुसार पुवा खोलामा करिब दुई करोड ५० लाख र जोगमाईमा तीन करोड २० लाख रुपैयाँ लागतमा बेलीब्रिज निर्माणको काम अघि बढाइएको छ । दुवै स्थानमा अहिले संरचना तयारीको काम भइरहेको छ । भारत सरकारको प्राविधिक सहयोगमा जडान हुने पुलका लागि भारतीय प्राविधिक टोली आउने तयारी छ । ‘वर्षाले अवरोध नगरे जेठ मसान्तभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ,’उनले भने, ‘तर कामले अपेक्षाकृत रूपमा गति नलिँदा मनसुन सक्रिय हुँदासम्म काम नसकिएला कि ? भन्नेमा शंका गर्छन् ।’


