
बिर्तामोड । झापाको बिर्तामोडमा फागुन २१ गते ४८ औं सुखानी शहीद दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।
केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि झापाको आयोजनामा हुने सभालाई पार्टीका केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
बिर्तामोडको सुगम पेट्रोल पंम्प छेउको खाली ठाउँमा हुने सभामा झापाका विभिन्न स्थानबाट कार्यकर्ता, समर्थक गरि एकलाख भन्दा धेरैको सहभागिता रहने बताईएको छ ।
सभामा सहभागी बन्न र्याली जुलुस सहित कार्यकर्ता ल्याउने तयारी गरिएको आयोजकले जनाएको छ ।

गणतन्त्र र जनअधिकारका लागि संगठित आन्दोल गर्ने वीर योद्धाहरुलाई तत्कालिन तानाशाही सत्ताले सुखानीमा हत्या गरेको दिनको सम्झानामा हरेक बर्ष सुखानी शहिद दिवस मनाईदै आएको र यस बर्ष समयलाई मध्यनजर गरेर सुखानी सहादत स्थलमा पुग्न नसकिएको र सुखानीकै सम्झनामा अर्जुनधार स्थित सालबाडीमा निर्माण गरिएको सुखानी स्मृति पार्कमा राखिएको शहिदहरुको शालिकमा प्रधानमन्त्रीले माल्याणपर्ण गर्ने कार्यक्रम पनि रहेको बताईएको छ ।
उक्त दिन सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (बादल), स्थायी कमिटी सदस्य एवम् प्रदेश १ इन्चार्ज संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पार्टी प्रदेश १ अध्यक्ष देवराज घिमिरे, झापा ईञ्चार्ज देवेन्द्र दाहालले पनि सम्बोधन गर्ने छन् ।
सभालाई साँगितिक महोल दिन गायकहरु जेवी टुहुरे, मधु गुरुङ, खेम नेपाली, माधव प्रधान र पवित्रा ओलीको प्रस्तुती रहने विज्ञप्तीमा उल्लेख छ ।


