



झापा आन्दोलनमा अग्रपंथीमा रहेर न्याय र परिवर्तनका लागि वर्ग संघर्षमा होमिने क्रममा तत्कालिन सरकारबाट पक्राउ परेका कम्युनिष्ट नेताहरुलाई ४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको अनकन्टार सुखानी जंगलमा गोलीहानी मारिएका पाँच झापाली कम्युनिष्ट योद्धाहरुको सम्झनामा आज सुखानी शहीद दिवस मनाईदै छ । २१ फागुन २०२९ अपरान्ह रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजबंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो ।



सहादत स्थल सुखानी ।

वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशी सो आन्दोलनको मुख्य पात्र मध्येका हुन् ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।



सहादत स्थल सुखानीमा बनाईएको स्मृति पार्क ।
सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसद्मा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ । अझै पनि नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद बाहिर क्रियाशील छन् ।

अर्जुनधाराको सालबाडीमा बनाईएको शहीद शालिक ।
आन्दोलनका सहयात्री मनकुमार गौतम
झापा विद्रोहमा लागेर १८ वर्ष कारागार जीवन बिताएका झापाका नेकपा नेता मनकुमार गौतमका अनुसार पाँचै योद्धाले सुखानीको जङ्गलमा हाँसीहाँसी बलिदान स्वीकारेका थिए । ‘पञ्चायती शासकहरूसँग आत्मसमर्पण गरेको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो होला तर बलिदानी भावनाले ओतप्रोत झापाका क्रान्तिकारीहरूले पञ्चायतसँग झुक्नुभन्दा मृत्युलाई रोजे’, गौतमले भने ।
नेता गौतमलाई पनि साधुको भेषमा भूमिगत राजनीतिमा क्रियाशील भएकै अवस्थामा पञ्चायती शासकले गिरफ्तार गरी १८ वर्ष थुनेको थियो । कारागार सारेको घटनाका प्रत्यक्षदर्शी गौतम ५ क्रान्तिकारीहरूसँगै कारागारमा थिए ।
‘चन्द्रगढी कारागारको ५ नं. कोठामा ५ शहीदहरूसँगै हामी १५ जना राजनीतिक बन्दीहरू थुनिएका थियौं’, २०२९ साल फागुन २१ गते बिहान करीब ११ बजेको घटना सम्झिँदै गौतम भन्छन्, “उहाँहरू ५ जनालाई मात्र बाहिर निकालियो र पुुलिसको गाडीमा चढाएर इलाम जेलमा सार्ने भनेर लगियो ।’
साथीहरूसँग कसिलो हात मिलाएर बिदा हुनुअघि ५ जनामध्येका अगुवा दाहालले ‘ कमरेडहरू, आज हामी मारिन जाँदैछौंँ, क्रान्तिका निम्ति हामी बलिदान हुन जाँदैछौंँ, अब हाम्रो फेरि भेट हुँदैन, तपाईँ बचेका कमरेडहरूले क्रान्तिको झण्डा निरन्तर उठाइरहनुहोला’ भनेको गौतमको स्मरणमा ताजै छ ।
हतकडी र खुट्टामा नेल लगाएर चन्द्रगढीबाट शनिश्चरेसम्म गाडी चढाएर लगेपछि त्यहाँबाट पैदलै हिँडाएर झापा र इलामको सिमानामा पर्ने सुखानीको एकान्त जङ्गलमा लहरै उभ्याएर प्रहरीले गोली हानेर हत्या गरेको थियो । सुखानीका ५ क्रान्तिकारीको शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते सो क्रान्तिका सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्ले उनीहरूलाई शहीद घोषणा गरेको थियो । सोही आन्दोलमा होमिएर जीवन वलिदानी दिने अझै धेरै नेताहरु शहीद घोषणा हुन बाँकी नै छन् ।
श्रोत: विभिन्न अनलाईन तथा विकिपिडिया