Aamsanchar

जामाखोला माइक्रोहाइड्रोका ९० मजदुरले १८ महिना बितिसक्दापनि पाएनन् ज्याला

Author Image
सोमवार, फागुन २४, २०७७

रुकुमपूर्व- सिस्ने गाउँपालिका–८ मा रहेको एक विद्युत आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन्। सिस्ने–८, धपेस्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका ९० जना मजदुरहरू काम गरेको १८ महिना बितिसक्दासम्म ज्याला नपाएपछि आक्रोशित भएका हुन्।

लामो समयसम्म कुर्दा पनि परिश्रमको ज्याला नपाएको उनीहरूले बताएका छन्। पहिरोले विद्युत् गृहमा क्षति पुर्‍याएको दुई वर्षपछि पुनःनिर्माण गरी सञ्चालनमा आइसक्दा पनि आफूहरूले शुरूमा काम गरेको ज्याला नपाएको उनीहरूले गुनासो गरेका छन्‌।

उपभोक्ता समिति, वडा कार्यालय र गाउँपालिकालाई आफूहरूले काम गरेको ज्याला नपाएको जानकारी पटक(पटक गराउँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको मजदुरी गरेका सिस्ने–८ का नरिभान सार्कीले बताए।

गाउँमै पाएको रोजगारीबाट कमाएर घरायसी खर्च जोहो गर्ने भनेर १९ दिन काम गरेको बताउँदै अर्का मजदुर नवीन सार्कीले ज्याला नदिएर आफूहरूमाथि उपभोक्ता समितिले अन्याय गरेको बताए। काम नगरेको ज्याला लामो समयसम्म नपाउँदा आफूहरूको दुःख बालुवामा पानी खन्याएसरह भएको उनको भनाई छ।

जामाखोला लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले भने आयोजना घाटामा गएको हुँदा काम गरेका मजदुरलाई हालसम्म ज्याला दिन नसकिएको बताए। प्राविधिकले काम गरेको स्टेटमेन्ट फेरबदल गरिदिएपछि आयोजना घाटामा गएको र मजदुरलाई ज्याला दिन नसकिएको बुढाको भनाइ रहेको छ। मजदुरीलाई कताबाट ज्याला उपलब्ध गराउने भन्नेतर्फ उपभोक्ता समितिले सोचिरहेको उनले बताए।

सिस्ने गाउँपालिकी अध्यक्ष कुमारी बरालले भने मजदुरले काम गरेको ज्याला जसरी भएपनि उपभोक्ता समितिले दिनुपर्ने बताइन्। उपभोक्ता समितिले प्राविधिकले स्टेटमेन्ट फेरबदल गरिदिएको भन्दै उपभोक्ता समिति पन्छिन नपाउने अध्यक्ष बरालको भनाइ रहेको छ।

९० किलोवाट क्षमताको विद्युत् जामाखोला लघु जलविद्युत् आयोजना रहेको छ। ९० जना मजदुरलाई गरी साढे आठ लाख रुपैयाँ हाराहारीमा ज्याला दिनुपर्ने बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर