काठमाडौ । फागुन २७ गते अर्थात् आज विश्व मिर्गौला दिवस नेपालमा सरकारी तथा निजी क्षेत्रहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । विश्व मिर्गौला दिवस ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने नाराका मनाइँदैछ । धेरैजसो मिर्गौला रोगी चौथो–पाँचौं अवस्थामा पुगेपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् । कसरी मिर्गौला रोग लागेको थाहा पाउँने, रोग लाग्दा कस्ता समस्या देखिन सक्छ, यो लाग्दा आयुर्वेद औषधि सेवन गर्ने कि नगर्ने र डायलसिस गर्ने कि मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे धेरैमा अन्योल देखिन्छ । मिर्गौला रोगबारे यस्तै अन्योलमा रहेकालाई सही मार्गनिर्देश हुनेगरी मिर्गौला रोग विशेषज्ञ डा. प्रेमराज ज्ञवालीसँग यो रोगका बारेमा विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, डा. ज्ञवालीका भनाइ–
मिर्गौलाले कसरी काम गर्छ ?
नेपालमा करिब ८० प्रतिशत मिर्गौला रोगी अन्तिम अर्थात चौथो र पाँचौ अवस्थामा उपचारका लागि अस्पताल पुग्ने गर्छन् । मिर्गौला रोगलाई दीर्घरोगको रुपमा चिनिन्छ । शरीरमा दुईवटा मिर्गौला हुन्छन् । मिर्गौलाले शरीरबाट निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्ने काम गर्छ । मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने विभिन्न तत्त्वको मात्रा मिर्गौलाले व्यवस्थापन गर्छ । मिर्गौलाको मुख्य काममध्ये पिसाब बनाउने पनि एक हो ।
मिर्गौलामा कसरी समस्या देखिन थाल्छ ?
मिर्गौला रोग लाग्ने धेरै कारण हुन्छन् । विशेष गरेर मधुमेह र उच्च रक्तचाप हुनेहरूलाई मिर्गौला रोग लाग्न सक्छ । उमेर बढ्दै गएपछि अर्थात् चालीस वर्ष कटेपछि मधुमेह र उच्च रक्तचाप बढी मात्रामा देखिन्छ । रगतमा दूषित पदार्थको प्रवाह भएपछि समस्या देखिन्छ । दुखाइ कम गर्ने नाममा जथाभावी विभिन्न प्रकारका पेनकिलर सेवन गर्न हुँदैन । जस्तै निम्स, फ्लेक्सन, भोभेरान जस्ता औषधिको धेरै सेवन गर्नाले मिर्गौलालाई हानी गर्छ । नेपालमा चिकित्सकको सल्लाहविना पेनकिलर सेवन गर्ने चलन छ । सन्तुलित आहार नहुने, नियमित शारीरिक अभ्यास नगर्दा क्रमशः मिर्गौला सम्बन्धी समस्या देखिन्छ ।
वंशाणुगत कारणले मधुमेह भएका बिरामीले विषेश ख्याल गर्नुपर्छ । त्यसैले शारीरिक, मानसिक रुपमा स्वस्थ रहनका लागि खानपान र नियमित शारीरिक अभ्यास गरेर मन र शरीरलाई स्वस्थ राख्न सकेको खण्डमा मिर्गौला पनि जोगिन सक्छ ।
यस्तो लक्षण देखिएमा मिर्गौला रोग हुन सक्छ
नेपालमा मिर्गौला रोग लागेको कुरा निकै कम मानिसले मात्रै पूर्ववत् अवस्थामा थाहा पाउँछन् । धेरैलाई थाहा नपाइकन मिर्गौला रोग लाग्छ । तर, केही लक्षणले संकेत पनि दिन सक्छ । जस्तै, बिहान उठ्दा आँखाको डिल सुन्निने, धेरै कोखा दुख्ने, छिनछिनमा पिसाब फेर्न आउने, पिसाबमा फिँज आउने, पिसाब धमिलो हुने आदि मिर्गौला रोगका प्रारम्भिक लक्षण हुन सक्छ । थोरै हिँड्दा थकाइ लागेको महसुस हुने, छाला सुक्खा हुने, चिलाउने, उच्च रक्तचाप हुने, शरीरका विभिन्न अङ्ग सुन्निने, शरीर दुब्लाउँदै जाने आदि लक्षण देखिएमा तत्काल जाँच गर्न अस्पताल जानुपर्छ ।
आयुर्वेदको भर पर्नु हुँदैन
आयुर्वेदिक औषधिबाट बिरामीको उपचार हुन सक्छ । तर, मिर्गौला रोग लागेर डायलाइसिस र प्रत्यारोपण गर्नुपर्ने बिरामीले आयुर्वेद औषधि सेवनमा लाग्दा झन् स्वास्थ्यमा जटिल समस्या सिर्जना हुन सक्छ । विभिन्न ठाउँमा विभिन्न दीर्घरोगलाई आयुर्वेदिक औषधिले निको पार्ने भ्रामक सूचनाका कारण मिर्गौला रोगी पनि पीडित भएको पाइन्छ । कुनकुन आयुर्वेदिक औषधिले कुनकुन अवस्थामा रोग निको पार्छ भनेर सम्बन्धित निकायले प्रष्ट पार्नुपर्छ ।
वैकल्पिक चिकित्साका नाममा मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिहरूले पनि उपचार गराउँदै आएका छन् ।
बर्सेनि ‘होलबडी’ परीक्षण गरौं
शरीरमा मिर्गौलासम्बन्धी रोग लागेको तत्काल थाहा हुँदैन । त्यसैले अनिवार्य रुपमा कम्तीमा वर्षको एक पटक ‘होलबडी’ परीक्षण गर्नुपर्छ । यदि होलबडी चेक गर्न नसक्ने अवस्था सिर्जना भएमा कम्तीमा एक पटक रगत र पिसाब जाँच गराउँदा मिर्गौला रोग भए÷नभएको थाहा पाउन सकिन्छ ।
यस्तै ४० वर्ष नाघेका व्यक्तिले वर्षमा एक पटक रगत र पिसाब परीक्षण गर्नुपर्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीले बर्सेनि परीक्षण गर्नैपर्छ । यसरी परीक्षण गरेपछि मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । त्यसैले मिर्गौला रोग लागेर डायलासिस तथा प्रत्यारोपण गर्ने अवस्थामा पुग्नबाट जोगिन सकिन्छ ।
अस्पताल आइपुग्न ढिलो
मिर्गौलामा रोग लागेको समयमै थाहा पाउन नसक्दा बिरामीहरु अस्पताल आइपुग्न ढिलो गर्दछन् । अन्य रोगमा जस्तो शरीरमा प्रत्यक्ष असर नदेखिने कारण पनि मानिसले मिर्गौला रोग लागेको पत्तो पाउँदैनन् । त्यसैले नेपालमा मिर्गौला रोगी उपचार गर्न अस्पताल आइपुग्दा धेरै ढिला हुने गर्छ, जसले गर्दा उपचारमा जटिलता बढ्छ ।
अन्य दीर्घरोग जस्तैः क्यान्सर, मुटुमा समस्या हुँदा दुख्छ । तर, मिर्गौलामा समस्या हुँदा कतै दुख्दैन । त्यसपछि एकै पटक मिर्गौला बिरामी डायलासिस गर्ने वा प्रत्यारोपण गर्ने अवस्थामा मात्र अस्पताल आइपुग्छन् ।
डायलाइसिस गर्ने कि प्रत्यारोपण ?
मिर्गौला रोगको पाँचौं अवस्थामा रगत छान्ने क्षमता कम हुन्छ । मिर्गौला ‘फेल’ भएमा डायलासिस गराउनुभन्दा प्रत्यारोपण गराउनु अति उपयुक्त हुन्छ । मिर्गौलाले रगत छान्ने क्षमता १५ प्रतिशतभन्दा बढी गरेकै बेलामा मिर्गौला प्रत्यारोपण गर्दा धेरै राम्रो हुन्छ । त्यसैले सरकारले मिर्गौला रोगको बारेमा जनचेतना फैलाउने, दुरदराजसम्म जनचेतना फैलाएर प्रारम्भिक अवस्थामै रोग पहिचान गर्ने वातावरण सिर्जना गरेमा धेरैले समयमै रोगको उपचार गर्न सक्छन् ।