Aamsanchar

चरिकोटमा ‘आरोग्यका लागि स्वजागरण’

Author Image
आइतवार, मंसिर ९, २०८१

चरिकोट । जीवन विज्ञान परिषद् दोलखाको आयोजनामा शनिबार चरिकोटमा आरोग्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ रमेश नेपालले आफूभित्रको सम्पदा चिनेमात्र समृद्ध हुन सकिने बताउनु भयो । उहाँले व्यक्तिको समृद्धिका लागि आफूभित्रका सात सम्भावनामा काम गर्नु पर्ने र राष्ट्रको समृद्धिका लागि आरोग्य पर्यटनका सम्भावनामा काम गर्नु पर्ने बताउनु भयो । समृद्धिका लागि पहिलो सर्त स्वास्थ्य (आरोग्य) भएको बताउदै गुरुदेवले स्वास्थ्यका लागि जीवन विज्ञानले स्वास्थ्यका सात आयाममा काम गर्दै आएको बताउनुभयो । गुरुदेवले देशलाई समृद्ध बनाउन आरोग्य पर्यटनका लागि पूर्वाधारको विकास गर्दै त्यसको प्रचार प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । स्वजागरण ध्यान विधि गराउदै गुरुदेवले यसलाई जीवनशैलीमा समावेस गरेर दैनिक प्रयोग गरे जीवनमा सकारात्मक परिवर्तन आउने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वज्ञानले मात्र जीवनमा स्वास्थ्य, शान्ति र समृद्धि आउने बताउनुभयो । उहाँले आरोग्यका लागि स्वजागरण आवश्यक रहेको बताउनु भयो । नागरिकको स्वास्थ्यका लागि प्रदेश सरकारले गर्नुपर्ने सबै कार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य हरि ढकालले योग ध्यानका माध्यमबाट देशमा सकारात्मता विकास गर्ने स्वजागरण अभियान समाज बदल्ने क्रान्ति भएको बताउँदै हरेक व्यक्तिले योग र ध्यानका माध्यमबाट आफ्नो क्षमता उजागर गर्नुपर्ने बताउनु भयो । उहाँले ध्यान गर्दा आफूमा शान्तिको महसुस भएको बताउदै अबदेखि जनप्रतिनिधि चयन गर्दा योग ध्यान गर्ने व्यक्ति छान्न सहभागीलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले आफ्नो संस्कार र योग ध्यानलाई जीवन पद्दतिमा सामेल गर्न आग्रह गर्नुभयो ।

चरिकोट रंगशालामा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा संघीय सांसदहररू, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू, वडाध्यक्षहरू, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र विभिन्न पेशाकर्मीसहित तीन हजारबढीको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर