Aamsanchar

आगामी आर्थिक वर्षमा विनियोजन हुने बजेटको तयारी गर्दै सरकार

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ ।

यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव माग गरेको हो । अर्थ मन्त्रालयले शुक्रबारसम्म १ हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक घरानालाई सुझावमा लागि इमेलमार्फत पत्र पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी नयाँ बजेटका लागि आवश्यक राय, सल्लाह र सुझाव लिन विभिन्न संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायीलाई सम्बोधन गरेर इमेलमार्फत पत्र पठाइएको जानकारी दिए । उनले निजी क्षेत्रको सुझावअनुसार नै निजी क्षेत्रमैत्री बजेट ल्याइने तयारी गरिएको बताए ।

अर्थ मन्त्रालयले माग गरेअनुसार आफूहरूले बजेटमा समेट्नुपर्ने विषय समेटेर सुझाव दिने व्यवसायीहरूले बताएका छन् । उद्योगी÷व्यवसायीले पठाएका विभिन्न राय सुझावलाई थप विश्लेषण गरी आगामी बजेटलाई थप प्रभावकारी बनाइने मन्त्रालयको तयारी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर