Aamsanchar

मोरङको सुन्दरहरैंचाका युवाहरुले ४ प्रतिशत ब्याजदरमा नेपाल बंगलादेश बैंकबाट ऋण पाउने

Author Image
मङ्गलवार, चैत ३, २०७७

काठमाडौं – मोरङको सुन्दरहरैंचा नगरपालिकाका युवाहरुले नेपाल बंगलादेश बैंकबाट उद्यम गर्न सहुलियत दरमा १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। नगरपालिका र बैंकबीच भएको सम्झौताअनुसार चार प्रतिशत ब्याजदरमा दुई लाखदेखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ। कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गर्ने र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौतामा उल्लेख छ।

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुका लागि यो व्यवस्था गरिएको बताए। त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए। विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको बैंकको भनाइ छ। पुरुषका लागि अधिकतम चार प्रतिशत र महिलाका लागि अधिकतम तीन प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट दुई वर्षसम्म कायम रहने गरी हस्ताक्षर भए पनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर