कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन्। अचारै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन्। यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको तेलहन बालीमा पर्छ, आलस।
प्राचीन कालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ। विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढेको छ।
थप जानकारी ।
(१) आलसमा रेशा (फाइबर) धेरै पाइन्छ र कार्वोहाइड्रेट कम हुन्छ । यसको विशेष प्रकार (मुसिलेज गमको मात्रा धेरै भएको) को रेशा पेटको लागि पनि राम्रो मानिन्छ र चाँडै भोक लाग्दैन । यसले आन्द्रामा विषाक्त पदार्थलाई निर्मलिकरण (डिटक्सीफिकेसन) गर्न सहयोग गर्छ ।
(२) आलसमा ओमेगा–३ फ्याट्टी एसिडहरु प्रचुर मात्रामा पाइन्छन् । सामान्यतया माछाको तेलमा ‘इपीए’ र ‘डिएचएल’ दुई प्रकारका ओमेगा–३ फ्याट्टी एसिड पाइन्छन्, तर आलसमा पाइनेचाहिँ ‘एएलए’ अर्थात अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एण्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी पाइएका छन् ।
(३) आलस छाला र कपालको लागि स्वस्थकर छ । यसले कपाल चम्किलो र बलियो (कम झर्ने) बनाउँछ र छालामा फुस्रोपना घटाउँछ । यसो हुनुमा आवश्यक फ्याट्टी एसिडहरुको साथसाथै आलसमा भिटामिन–बी पनि पाइनु हो । डा. सायमीले भन्नु भएअनुसार भिटामिन–बी क्यान्सर रोगीको लागि राम्रो हुन्छ ।
आलसमा पाइने ओमेगा–३ एएलए फ्याट्टी एसिड आँखाको लागि पनि राम्रो हुन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने/पोल्नेहरुको लागि ओमेगा–३ को सेवन धेरै लाभदायक हुन्छ ।
(४) आलसको नियमित सेवनले कोलेस्ट्रोल घटाउँछ । यो मुटु रोगाउने हाइपरलिपिडेमिया रोगको उपचारमा समेत लाभदायी पाइएको छ । आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिन्छ जसले गर्दा ती शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ ।
(५) कतिपयलाई ग्लुटिन भएको खाना खान हुँदैन । यसले आन्द्रामा समस्या ल्याउँछ र खाएको पच्दैन । यो वंशाणुगत रोग पनि हो । आलसमा ग्लुटिन हुन्न । त्यसैले ‘सेलियाक’ रोग अर्थात ग्लुटिन एलर्जी भएकाहरुलाई पनि यो लाभदायक छ ।
(६) आलसमा अत्यधिक मात्रामा एण्टिअक्सिडान्टस् खासगरी ‘लिग्नान्स्’ पाइन्छन् । यी तत्वले चाँडै बुढो देखिने र हर्मोन असंतुलन हुने प्रक्रियामा कमी ल्याउँछ भने कोशिकाहरु नष्ट भएपछि पुनर्जनन (सेल रिजेनेरेसन) हुने प्रक्रियामा सघाउँछ । लिग्नान्स्लाई प्राकृतिक ‘फाइटोइस्ट्रोजन’ अर्थात बिरुवाजन्य इस्ट्रोजन हर्मोन पनि भनिन्छ । यो हर्मोन उमेर पुसिसकेका महिलाहरुमा ट्युमर वृद्धि रोक्नमा सहयोगी भएको मानिन्छ ।
साथै लिग्नान्स्मा भाइरस र व्याक्टेरिया विरोधी गुणहरु पनि पाइन्छन् जसले अरु सामान्य रोगहरु जस्तै रुघा, आउँ, झाडापखाला रोक्नमा केही हदसम्म काम गर्छ ।
(७) आलसको सेवनले पाचनक्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । यसले पाचन अंग (ग्यास्ट्रोइन्टेस्टिनल ट्राक्टस) मा सुरक्षा प्रदान गर्दछ भने पेटभित्र रहने लाभदायी व्याक्टेरियालाई राम्रो खाना प्रदान गर्दछ । पेटमा खासगरी यसले आन्द्रालाई सुरक्षा प्रदान गर्दछ ।
(८) क्यान्सर रोगीहरु खासगरी स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरको लागि आलस खानु राम्रो मानिन्छ । त्यसैले ‘बडविग डाइट’, जुन क्यान्सरबाट बच्न वा क्यान्सरको उपचारमा विशेष प्रयोग हुन्छ, को मुख्य अंश नै आलस र आलसको तेल रहेको हुन्छ । ‘जर्नल अफ क्लिनिकल क्यान्सर रिसर्च’ मा प्रकाशित नतिजाअनुसार आलसको सेवनले स्तन क्यान्सरको जोखिम घट्न सक्छ, किनकि यसले ट्युमरको वृद्धिमा कमी ल्याउँछ । त्यस्तै जर्नल अफ न्युट्रिसनमा प्रकाशित नतिजाले आलसमा पाइने लिग्नान्स्ले पाठेघर क्यान्सरको जोखिम कम गर्न सक्ने देखाएको छ ।
खासमा आलसमा पाइने लिग्नान्स्लाई आन्द्रामा हुने लाभदायक ब्याक्टेरियाले ‘इन्टरोलाक्टोन’ र ‘इन्टरोडाइओल’ इस्ट्रोजनमा परिणत गरि दिन्छन्, जसको कारण हर्मोन संतुलनमा सघाउ पुग्न जाने विश्वास गरिन्छ । हर्मोनको संतुलनले स्तन क्यान्सरलगायतका समस्याहरुमा कमी आउँछ । यिनै कारण हर्मोनसँग जोडिएको क्यान्सरहरुको जोखिम घटाउन विरुवाजन्य भोजन (डाइट) मा बढी जोड दिन थालिएको बुझिन्छ ।
(९) आलसको सेवनले शरीरको तौल पनि घटाउँछ । किनकि यो खाँदा चाँडै भोक लाग्दैन, जसको कारण धेरै खाइन्न । साथै यसले हर्मोनको असंतुलनलाई पनि घटाउने हुनाले पनि मोटोपनामा कमी आउँछ ।
(१०) आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाहरुको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित बनाउन मद्दत गर्छ ।
अमेरिकाको कृषि विभाग (युएसडिए) को तथ्याङ्कअनुसार दुई ठूलो चम्चा नपिसेको आलसमा क्यालोरी ११०, कार्बोहाइड्रेट ६ ग्राम, प्रोटिन ४ ग्राम, चिल्लो पदार्थ ८.५ ग्राम, रेशा ६ ग्राम, मान्गानेज ०.६ मिलिग्राम (२६ प्रतिशत डेलि भ्यालु, डिभी अर्थात प्रत्येक दिनको लागि आवश्यक मात्राको २६%), भिटामिन बी१ ०.४ मिलिग्राम (२२ प्रतिशत डिभी), म्याग्नेसियम ८० मिलिग्राम (२० प्रतिशत डिभी), फोस्फोरस १३२ मिलिग्राम (१४ प्रतिशत डिभी), कपर ०.२ मिलिग्राम (१२ प्रतिशत डिभी) र सेलेनियम ५ मिलिग्राम (८ प्रतिशत डिभी) पाइन्छन् । यिनका अतिरिक्त भिटामिन बी६, फोलेट, आइरन, पोटासियम र जिंक पनि पाइन्छन् ।
खाने तरिका
(१) आलसलाई धेरै तरिकाले खान सकिन्छ । आलसलाई अंकुराएर खानु सबैभन्दा राम्रो मानिन्छ । हुनत धेरै अरु गेडागुडी, अंकुराएर खानु बढी पौष्टीक मानिन्छ, खान्छौं पनि । आलसलाई अंकुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिजतत्वहरु हाम्रो शरीरले सजिलै लिन सक्छ । क्यानडाको फ्लाक्स काउन्सिलको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ धण्टा भिजाएर प्रयोग गर्नु भन्ने छ ।
(२) आलसलाई पिसेर खानु सजिलो र प्रभावकारी उपाय हो । नपिसेर खाँदा यो पच्दैन (झाडा लाग्ने होइन) र यसको गुणिलो तत्वहरु शरीरले लिन पाउँदैन । पिसेपछि धेरै समय हावामा खुल्ला नराख्नु भनिन्छ । त्यसैले होला डा. सायमिले एक हप्ता जतिलाई पुग्ने पिसेर बिर्को भएको भाँडोमा राख्ने भन्नु भएको । क्यानडाको फ्लाक्स काउन्सिलले गरेको अध्ययनअनुसार खस्रो गरी पिसेको आलसलाई ६ महिनासम्म कोठाको सामान्य तापक्रममा सुरक्षित भण्डार गर्न सकिन्छ ।
(३) आलसलाई विभिन्न तरिकाले खान सकिन्छ । जस्तै दुध वा दहीसँग मिसाएर खान सकिन्छ । दहीसँग खाँदा स्वादअनुसार मह मिसाउन सकिन्छ । घरमै रोटी, बिस्कुट, केक/मफिन बनाउँदा आलसको पिठो मिसाउन सकिन्छ । आलसलाई ३०० डिग्री फरेन्हाइट (झण्डै १५० डिग्री सेल्सियस) मा ३ घण्टासम्म बेक गर्दा यसमा भएको एएलए ओमेगा–३ मा केही असर नपरेको विभिन्न अध्ययानबाट देखाएको छ ।
संभावित असरहरु र लिनुपर्ने सावधानी
कहिल्यै पहिला नखाएकाहरुलाई आलस खाँदा बायु बढ्ने, पेट ढुस्स वा असजिलो हुने, दिसा पातलो हुने, खानामा रुची कम हुने हुन सक्छ । तर खाने बानी बसेपछि यी सबै बिस्तारै ठिक हुन्छ । तथापि धेरै खायो भने हर्मोनमा असंतुलन आउन सक्छ । साथै आलसले रगतलाई पातलो गर्छ । कसैले ‘एस्पीरिन’ जस्ता रगत पातलो गर्ने औषधि खाने गरेका छन् भने आलस नखान सल्लाह दिइन्छ । त्यस्तै, कसैलाई हर्मोन–संवेदनशील (हर्मोन–सेन्सिटिभ) स्तन वा पाठेघर क्यान्सर छ भने पनि आलस नखानु भन्छ । कसैलाई कोलेस्ट्रोल अत्यधिक भएर कोलेस्ट्रोल घटाउने ओषधि खाइरहेको छ भने आलसलाई डाक्टरको सल्लाह लिएरमात्र खान सुझाइन्छ ।