

काठमाडौँ — चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख रुपैयाँ नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।
चैत १६ गते ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर उनीहरुले लुटपाट गरेका प्रहरीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले २० लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार ६ हजार, ६ हजार १७० युआन, तिलहरी, बाला, रिङ औंठी बरामद भएको जनाएको छ ।

४३ लाख रुपैयाँसहित पक्राउ
यसैबीच गएराति चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज ९गल्ली० बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र ९ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।
सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।



