Aamsanchar

त्रिकोणात्मक ट्वान्टी २० कृकेट : नेपालद्वारा उपाधीका लागि नेदरल्यान्ड्स सामु २ सय ३९ रनको लक्ष्य

Author Image
शनिवार, वैशाख ११, २०७८

काठमाडौँ — नेपालले त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श‌ृंखलाको फाइनलमा नेदरल्यान्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५ विकेट गुमाई २ सय ३८ रन बनाएको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर हो ।

नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

उनका ओपनिङ जोडी आसिफ शेख २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।

फाइनल पुग्ने क्रममा राउन्ड रोबिन लिगमा नेपालले ४ मध्येको ३ खेल जितेको थियो । नेदरल्यान्ड्सले २ मा विजय र एकमा पराजय भोगेको थियो । मलेसियासँग लिगको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले ‘टाई’ नतिजा निकालेको थियो ।

राउन्ड रोबिनमा नेपाल र नेदरल्यान्ड्सले एक अर्काविरुद्ध १–१ खेल जितेका थिए । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । अर्को खेलमा नेपालले छाडेको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले २ सय ९ रन बनाउँदै ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाएको थियो ।

नेपालले सुशन भारीको स्थानमा अविनाश बोहरालाई प्लेइङ ११ मा राखेको छ । यो संगै नेपाली टोलीमा ४ तीब्र गतिका बलर हुनेछन् । स्पिन विशेषज्ञको रुपमा सन्दीप लामिछाने मात्र टोलीमा रहेका छन् । अविनाशको स्थानमा खेल्दै कमलसिंह ऐरीले मलेसियासँगको पछिल्लो खेलमा ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ३ विकेट लिएका थिए । पछिल्ला तीन खेलमा १ विकेट लिन मात्र सके पनि ट्वान्टी-२० विशेषज्ञ बलर भएकाले अविनाशले मौका पाएका हुन् ।

नेदरल्यान्ड्समाथी विजय हात पारेमा नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पार्नेछ । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)