Aamsanchar

झापामा ५ लाख मूल्य बराबरको प्रतिबन्धित माछाको भुरासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रण

Author Image
शुक्रवार, वैशाख १७, २०७८

झापा – नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास माछाको भुरासहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।

नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार माछाका भुरा गौरीगञ्ज नाकाबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्राएका हुन्। त्यहाँकै कारोबारी सुनिल सहनीले अवैध रुपमा माछाको भुरा नेपाल भित्राएको र बिर्तामोड नगरपालिका–९ गरामनी बस्ने ३८ वर्षीय चालक बलबहादुर जोगीले मे १ ज ३०१६ नम्बरको पिकअप गाडीमा माछाको भुरालाई लुकाएर बिर्तामोडतर्फ लैजान खोजेका थिए।

सोही बेला सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा गाडीसहित माछाको भुरा बरामद गरेको एसपी पाण्डेले जानकारी दिए। बरामद गरिएको माछाको भुराको नेपाली बजार मूल्य अन्दाजी पाँच लाख रुपैयाँ रहेको जनाइएको छ। बरामद गरिएको माछाको भुरालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालको नेतृत्वमा अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर, स्थानीयवासी र पत्रकारको रोहबरमा नष्ट गरिएको छ। यता नियन्त्रणमा लिएको पिकअप भ्यानलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।

सशस्त्रले पिकअप गाडीलाई १८ लाख मूल्याङ्कन तोकेर भन्सार बुझाएको हो। पछिल्लो समयमा झापाको गौरीगञ्ज नाकाबाट अवैध रुपमा माछा र माछाको भुरा धमाधम नेपाल भित्रिरहेका छन्। विषादी परीक्षण बिना माछा भित्राउन नपाउने र भुरा भित्राउन पनि विभागबाट आधिकारिक अनुमित लिनुपर्ने कानुनी प्रावधान रहेको अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुरका प्रमुख डा। मुकेशकुमार सिंहले बताए।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३
दाङ : बबईमा पुल नहुँदा सास्ती
बिहिवार, वैशाख १०, २०८३